Logout

चर्चामा

तंग्रिदै चलचित्र उद्योग, ‘म यस्तो गीत गाउँछु २’ माघ १९ मा

884 Shares

काठमाडौं । लगभग दुई वर्ष नेपालका चानचुन दुई सय सिनेमा घरमा सन्नाटा छायो । अब सिनेमा हल खुल्छ ? फिल्म प्रदर्शन हुन्छन् ? दर्शकहरु हलसम्म आउँछन् ? यावत् प्रश्नको कुनै ठोस जवाफ थिएन ।

यसबीचमा केही सिनेमा हल त बन्द नै भए । तर, समय सधैं एकनास रहँदैन । कोरोनाको भय घट्दै गयो । जनजीवन सामान्य बन्दै गयो । सिनेमा हलहरु खुल्न थाले । एकाध नेपाली सिनेमा प्रदर्शनमा आए । तर, ती सिनेमाहरुले दर्शकलाई टिकट काउण्टरको लाममा उभ्याउन सकेनन् । यसरी बल्लतल्ल प्रदर्शनमा आएका सिनेमा पनि रित्तै भएपछि फिल्मकर्मीको मुटुमा अझै ढ्याङ्ग्रो बज्न थाल्यो । उनीहरु नराम्ररी हच्किए । र, प्रदर्शनको मुखैमा अड्किएका सिनेमा पनि थन्को लगाइयो । यही धर्मर अवस्थामा दक्षिण भारतीय सिनेमामा हिरोको ‘इन्ट्री’ भए जसरी धमाकेदार रुपमा बलिउड फिल्म ‘सूर्यवंशी’ प्रदर्शनमा आयो । अक्षयकुमार स्टारर यस चलचित्रले सिनेमा हलमा दर्शक फर्काइदियो । हल खचाखच हुन थाले ।

अन्ततः नेपाली सिनेकर्मीमा समेत एउटा बेग्लै आशा तरंगित भयो । उनीहरुले सोचे, ‘सिनेमा घरको तलतल मेट्न दर्शक ओइरो लाग्ने रहेछन् ।’ यही सोचेर उनीहरुले आफ्ना फिल्मको प्रदर्शन मिति तोक्न थालेका छन् । कतिले उपयुक्त साइत जुराएर आफ्ना चलचित्रको प्रदर्शन मिति घोषणा गरिसकेका छन् भने कति पर्ख र हेरको अवस्थामा छन् ।

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले माघ १९ गतेका लागि प्रदर्शन मिति तोकेको छ । निर्देशक सुदर्शन थापाले बिहीबार मात्रै चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् ।

‘कुनै एक चलचित्र मात्र नभई पूरै नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो । सोही उद्देश्यका साथ नेपाली चलचित्र ‘म यस्तो गीत गाउछु २’ यही वर्षको माघ १९ मा प्रदर्शन गरिने निर्णय गरेका छौं,’ निर्माता समेत रहेका थापाले फेसबुकमा लेखेका छन् ।

‘म यस्तो गीत गाउँछु २’ कोरोना महामारी अगाडि नै प्रदर्शनका लागि तयार भएको चलचित्र हो । निर्माण टिमले २०७६ फागुन ३० गतेलाई प्रदर्शन मिति तोकेर प्रचारप्रसारमा लाखौं खर्च गरिसकेको थियो । तर, कोरोना महामारीका कारण चलचित्र प्रदर्शन हुन सकेन ।

सुदर्शन र नायिका पूजा शर्माको निर्माणमा बनेको चलचित्रमा पूजा र पल शाह मुख्य भूमिकामा छन् । यो प्रेमकथामा निर्माण भएको चलचित्र हो । यसको पहिलो सिरिज सफल मानिएको थियो ।

यसअघि नै केही चलचित्रले प्रदर्शन मिति तोकिसकेका छन् । सुमन पौडेलको लेखन तथा निर्देशनमा तयार चलचित्र ‘ओभरडोज’ले मंसिर १७ गतेलाई प्रदर्शन मिति तोकेको छ ।

चलचित्रमा लागूऔषध र अपराधको कथा देखाउन खोजिएको निर्माणपक्षले जनाएको छ । चलचित्रमा प्रनिशराज पन्त, सविनजंग थापा र वीना श्रेष्ठ लगायतको अभिनय छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार