मुंबई — बलिउड फिल्म ‘धुरन्धर’ हालै नेटफ्लिक्समा रिलिज भयो । तर, फ्यानहरूको उत्साह केही समयमै रिसमा परिणत भयो। किनभने ‘अनकट’ भनिए पनि, फिल्मको केही महत्त्वपूर्ण दृश्य काटिएको छ र गालीगलौज हटाइएको छ।
फिल्म भारतीय बक्स अफिसमा ८३५ करोड भारु भन्दा बढी कमाइसकेको छ भने विश्वभर १३०० करोड भारु पार गर्दै नयाँ रेकर्ड बनाएको छ। नेपाली बक्स अफिसमा पनि यो फिल्मले १० करोड नेरु भन्दा बढी कमाइसकेको छ र हलमा रिलिज भएको ५३ औँ दिनसम्म यसको लोकप्रियता कम भएको छैन।
आदित्य धर निर्देशित यो फिल्मलाई ओटीटीमा ‘एडल्ट’ सर्टिफिकेट दिइएको थियो। तर, नेटफ्लिक्समा रिलिज हुँदा कट गरिएको भर्सन मात्र उपलब्ध भएकोले, धेरै दर्शकहरू निराश छन्। फिल्म हिन्दीका साथै तमिल र तेलुगु भाषामा पनि स्ट्रिमिङमा आएको छ।
रणवीर सिंह, अर्जुन रामपाल, सञ्जय दत्त, सारा अर्जुन, राकेश बेदी र गौरव गेरा जस्ता कलाकारहरूको दमदार अभिनयले फिल्मलाई अझ आकर्षक बनाएको छ। हलमा र ओटीटीमा फरक अनुभव पाएर केही दर्शकहरूले आफू ठगिएको महसुस गरिरहेका छन्।
नेटफ्लिक्सका प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि व्यक्त गर्दै कट गरिएको भर्सनको आलोचना गरेका छन्। धेरैले फिल्मको ‘अनकट’ अनुभवको अपेक्षा राखेका थिए, तर उपलब्ध भर्सनले त्यो अनुभव पूरा गर्न सकेको छैन।