रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्र ‘माइतीघर’को शीर्ष गीत सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा सञ्जिवनीको स्वर रहेको छ । ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको यस गीतमा किरण खरेलको शब्द र स्वर्गीय जयदेवको संगीत रहेको छ ।
यो गीतको ओरिजिनल भर्सनमा गायिका आशा भोस्लेको स्वर समावेश थियो । ‘माइतीघर’ नामक पुरानो नेपाली चलचित्रको बहुचर्चित गीतलाई निर्माता रोहित अधिकारी र उनको टिमले पुनः बजारमा ल्याएका हुन् । असोज १३ गते दशैंको फूलपातीको दिनबाट चलचित्र रिलिजमा आउनेछ ।
गीतको भिडियोमा नायिकाद्धय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् । मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो लोभलाग्दो बनेको छ । छायांकन, लोकेशन र प्रस्तुतीकरण पक्षले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
मिलन तामाङ निर्देशित यस चलचित्रमा रबिन शेरचन र धिरज तामाङले लगानी गरेका छन् । कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र निरज कटुवाल रहेका छन् भने रामशरण पाठकले लेखन गरेका हुन् ।
यस चलचित्रमा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारको अभिनय छ । चन्द्रकुमार दोङको कथा रहेको चलचित्रले दर्शकको माया पाउने विश्वास लिइएको छ ।
गीत सार्वजनिकसँगै भिडियो प्रतियोगिताको समेत घोषणा गरिएको छ । ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउनेमध्ये उत्कृष्ट एक जना दर्शकलाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा चलचित्रका प्रस्तुतकर्ता रोहित अधिकारीले गरेका छन् ।