काठमाडौँ । नेकपा एमालेले महाकाली नदीमा भारतीय पक्षले एक पक्षीय रुपमा बनाएको पक्की संरचनाप्रति चासो देखाएको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले महाकाली नदीमा भइरहेको पछिल्लो गतिविधिको सामाजिक सञ्जालमार्फत चासो राखेका हुन् ।
भट्टराईले फेसबुकमार्फत महाकालीमा भारतीय पक्षले बनाउने संरचनाले नेपाललाई असर गर्ने भन्दै एकपक्षीय बनाउन नमिल्ने उल्लेख गरेका छन् ।
‘महाकाली नदी सीमा नदी हो । सिमानामा बनाउने संरचनाले अर्कातिर असर गर्छ भने एकपक्षीय रुपमा बनाउन मिल्दैन’, नेता भट्टराईले भनेका छन्, ‘नदीको धार नै परिवर्तन हुनेगरि महाकालीमा जे भइरहेको छ यो तत्काल रोकी यस मामलामा द्विपक्षीय वार्ता गरि सहमति खोजियोस् ।’ उनले यो मामला संघीय सरकारको भएकोले केन्द्रबाटै पहल हुनुपर्ने समेत बताएका छन् । भारतीय पक्षले महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरी एकपक्षीय ढंगले पक्की संरचना बनाइरहेको छ ।