नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद डा. शंकरप्रसाद उप्रेतीको शनिवार राति काठमाडौंमा निधन भएको छ। आज उनको पशुपति आर्यघाटमा अन्त्यष्टि भइरहेको छ।
२०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेसका तर्फबाट ६ वर्षसम्म राष्ट्रिय सभाका सदस्य रहेका उप्रेतीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटक–पटक जेल नेल भोगेका थिए।
लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका उप्रेतीले चिकित्सकका रुपमा २०१८ सालमा कैलालीको धनगढीबाट सेवा शुरु गरेका थिए।
भोजपुर हुँदै झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरेर करिब ५० वर्षको अवधिमा लाखौंको उपचार गरेका थिए उनले। आर्थिक रुपले सामान्य स्थितिमा रहेका जो कोही नागरिकले उनीबाट निःशुल्क उपचार पाएका थिए ।
प्रसिद्ध साहित्यकार प्रा. डा. सञ्जिव उप्रेतीका पिता डा. शंकरप्रसाद उप्रेतीको निधनप्रति सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्।
'उहाँको निधनबाट मैले एक पुरानो साथी, पार्टीले एक निष्ठावान अग्रज र समाजले अथक समाजसेवी गुमाएको छ,' देउावाले भनेका छन्।