Logout

चर्चामा

नेता खरेलको चुनौती सामना गर्न एमाले अध्यक्ष ओली ब्याडमिन्टन खेल्न गएका थिए (तस्बिरसहित)

2k Shares

झापा । झापा आउन एक दिनअघि नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज अग्नि खरेलले पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बिर्तामोडमा बसेका बेला जिउ तन्याक तुनुक पार्ने ठाउँ छ है, खेल्ने भए जानुपर्छ’ भनेका थिए।

खरेलको प्रस्ताव स्वीकार गर्दै ओलीले ‘तपाईंकाे च्यालेन्ज स्वीकार्य छ’ भन्दै जवाफ दिएका थिए।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहीबार बिहान एकाएक बिर्तामोडको कनकाई रोडमा रहेको ब्याडमिन्टन हलमा नेता खरेलसहित प्रवेश गरे।

उनी ब्याडमिन्टन खेल हेर्नका लागि नभई खेल्नका लागि प्रवेश गरेका थिए। उनलाई नेता खरेलको चुनौतीको जवाफ पनि दिनु थियो ।

अध्यक्ष ओली बिहीबार बिहान करिब ७ बजे बिर्तामोडमा रहेको बिग ब्रदर्श ब्याडमिन्टन हलमा प्रवेश गर्दा सबै छक्क परेका थिए।

यसअघि पनि खेल तथा खेलाडीलाई उच्च मनोबल दिलाउन आफूले पनि विगतमा विभिन्न खेल खेल्ने गरेको बताउँदै आएका ओलीले बिहीबार ब्याडमिन्टन खेलेरै देखाए। उनलाई नेता खरेललाई आफ्नो विपरीत कोर्टमा राखेर ब्याडमिन्टन खेले।

पाको शरीरका बाबजुद उनले देखाएको उत्साह खेलप्रेमीका लागि प्रेरणादायी थियो। ब्याडमिन्टन हल प्रवेश गर्दा खेलिरहेका खेलाडी ओलीसँग तस्वीर खिच्न दौडिन थाले। त्यसपछि ब्याडमिन्टन खेलाडी प्रभा लिम्बु र ओली एउटा कोर्टमा र अर्को कोर्टमा कुमार राई र एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल बसेर खेल सुरु भयो। खेल कसले जित्योभन्दा पनि ओलीले खेलप्रति देखाएको चासो र उत्साह गज्जबको थियो। मानिसलाई स्वस्थ रहनका लागि खाना, व्यायाम र आराम महत्त्वपूर्ण रहेको ओलीकाे भनाइ थियाे।

आफू युवा अवस्थामा रहँदा फुटबल बढी खेल्ने गरेको ओलीले बताए। खोलामा बाढी आएका बेला पौडी पनि खुब खेल्ने गरेको भन्दै ठट्टा गर्दै ओलीले पहिला ब्याडमिन्टन खेलका लागि वातावरण नभएकाले त्यतातिर लाग्न नपाएको बताए।

ब्याडमिन्टन खेलिसकेपछि नेता अग्नि खरेलले चिया पिउन आफ्नो घरमा जानका लागि ओलीलाई प्रस्ताव गरेका थिए। नेता खरेलसँग ठट्टा गर्दै ओलीले ‘एक कप चियाको कति रुपैयाँ पर्छ?’ भनेर सोधेका थिए।

खरेलले ‘पैसा पर्दैन, सित्तैमा ख्वाउँछु’ भन्दै ठट्यौलीमा जवाफ दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार