काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईईं)को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न आज बोर्डको बैठक बोलाइएको छ। बैठक दिउँसो २ बजे बस्ने छ। एसईईंको नतिजा आज सार्वजनिक हुँदैछ।
परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा सार्वजनिकका लागि अन्तिम तयारी भइरहेको र आजै सार्वजनिक हुने जानकारी दिए। परीक्षामा ४ लाख चौध हजार विद्यार्थी सहभागी भएका थिए। नतिजा ग्रेड अनुसार सार्वजनिक गरिने छ।
यस्तो छ ग्रेड
९० र सोभन्दा माथि अंक ल्याउनेलाई ए प्लस
८० र सोभन्दा माथि तर ९० भन्दा कम ल्याउनेलाई ए
७० र सोभन्दा माथि तर ८० भन्दा कम अंक ल्याउनेलाई बी प्लस
६० र सोभन्दा माथि तर ७० भन्दा कम अंक ल्याउनेलाई बी ग्रेड
५० र सोभन्दा माथि ६० भन्दा कम अंक ल्याउनेलाई सी प्लस
४० र सोभन्दा माथि तर ५० भन्दा कम अंक ल्याउनेलाई सी ग्रेड
नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ। नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ।
यसैगरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिनेछ। शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।