स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँच दल तालमेल गरेर जाने भएपछि यस पटकको चुनावमा मुख्यगरी पाँच दल भर्सेस एमालेबीच प्रतिस्पर्धा हुने निश्चित छ ।
हुन त एमाले अध्यक्ष ओलीले पाँच दललाई पाँच किलोको ढक र एमाले एक्लै एक क्वीन्टल भनेर आफ्ना नेता कार्यकर्ताको मनोबल बढाउने काम गर्नुका साथै ७० प्रतिशत स्थानीय तह एमाले जित्ने दावी गर्दै आएका छन् । तर ओलीको भाषण र दावीजस्तो वस्तुगत अवस्था भैदिएको भए ओलीलाई यसरी आफै दौडधुपमा निस्कनु जरुरी थिएन ।
किनभने गत स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बनेको एमाले विभाजनसँगै गठबन्धनसँग चुनावी प्रतिस्पर्धा गर्नु र विगतको विरासत कायम गर्नु एमालेका सामु फलामको च्युरा चपाए सरह भएको विश्लेषकहरुको भनाइ छ ।
‘संगठनको आधार भनेको स्थानीयस्तरमै हुन्छ । स्थानीय तहमा जतिसक्दो धेरै जित्न सके संसदीय निर्वाचनमा त्यसको प्रभाव स्वत पर्छ । त्यसैले अहिले हाम्रो मेहनत स्थानीयस्तरमा बढी भइरहेको छ’, एमाले सचिव समेत रहेका रघुवीर महासेठको भनाइ छ । महासेठले विगतको भन्दा यो पटक एमालेले मधेससहित देशभरबाट बढी सिट जित्ने दावी समेत गरे ।
पाँच दलीय गठबन्धन एकातिर र आफ्ना उम्मेद्वार अर्कातिर हुँदा उनीहरुसँग प्रतिस्पर्धा गर्न एमालेलाई धेरैजसो स्थानमा कठिन हुने भएकाले पनि जसरी हुन्छ मतदाता आफ्नो पक्षमा पार्ने एमाले रणनीति छ । त्यसका लागि अध्यक्ष ओली आफै विभिन्न कार्यक्रममा खटिनेमात्र नभई आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचारप्रसारसहित प्रतिस्पर्धीमाथि कडा प्रहार गर्ने गरेका छन् ।
२०७४ को स्थानीय निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गरेर ७५३ स्थानीय तहमध्ये २९३ स्थानीय तहका प्रमुख जितेको थियो । एमाले चोइट्याएर माधव नेपालले फरक पार्टी बनाएसँगै पुरानो विरासत जोगाउन एमालेलाई कठिन रहेको आँकलनकाबीच ओलीको देश दौडाहा तीव्र बनेको हो ।
पछिल्लो केन्द्रीय कमिटी बैठकमा नेताहरुले पहिलो पार्टी बनाउन सकिने बताएपनि आँकडा पेश गर्दा करिव २ सय स्थानीय तहभन्दा बढी जित्न नसकिने तथ्य पेश गरेका थिए ।