इलाम । ४० वर्ष बिनासुनुवाइ भारतीय जेलमा बसेर फर्किएका इलामको माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) को उपचार खर्च प्रदेश १ सरकारले व्यहोर्ने भएको छ ।
भारत सरकारसँग क्षतिपूर्तिका लागि समेत प्रदेश सरकारले तत्काल पहल थाल्ने जनाएको छ । यसअघि बिनाकसुर लामो समयसम्म जेलमा बिताएको भन्दै सोमबार कोलकाता उच्च अदालतले पनि उनलाई क्षतिपूर्ति उपलब्ध गराउन पश्चिम बंगाल सरकारका नाममा आदेश दिएको थियो ।
प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले दुर्गाप्रसादको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले व्यहोर्ने बताए ।
इलामका प्रमुख जिल्ला अधिकारी दुर्गाबहादुर खड्कालाई फोन गरेर उपचारको व्यवस्था मिलाइदिन आग्रह गरेको मन्त्री कार्कीले जानकारी दिए ।
भारतसँग क्षतिपूर्तिका लागि प्रक्रिया अघि बढाउन कागजी प्रक्रिया पूरा गर्न प्रजिअ खड्कालाई आग्रह गरेको उनले सुनाए । प्रजिअ खड्काले पनि उक्त कुराको पुष्टि गरे ।
‘दुर्गाप्रसादलाई तत्काल पायक पर्ने जुनसुकै अस्पतालमा उपचार गर्न लैजानुअघि जिल्ला प्रशासनलाई जानकारी गराउन भतिजा गोपाललाई भनिसकें,’ प्रजिअ खड्काले भने । लामो समय जेल बस्दा उनलाई शारीरिक र मानसिक समस्या देखिएको छ ।
भारत सरकारसँग क्षतिपूर्तिका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रक्रिया अघि बढाउने भएकाले थुनामा परेदेखिको कागजात लिएर प्रशासन आउन पनि गोपाललाई भनेको खड्काले सुनाए ।
दुर्गाप्रसादको नेपाली नागरिकता छैन । नागरिकता बनाउन सबै प्रक्रिया पूरा गरेर पठाइदिन पनि वडाध्यक्षलाई भनिएको प्रशासनले जनाएको छ ।
६१ वर्षीय दुर्गाप्रसाद सन् १९८० मा हत्या अभियोगमा दार्जिलिङमा पक्राउ परेका थिए । ४० वर्ष जेलमा बिताएका उनलाई कोलकाता उच्च अदालतले गत बुधबारमात्रै रिहा गर्न आदेश दिएको हो ।
उनी आइतबार इलामस्थित घर पुगेका हुन् ।