आफ्नो इन्धन भण्डारण डिपोमा युक्रेनले आक्रमण गरेको आरोप रुसले लगाएको छ। युक्रेनको उत्तरी क्षेत्रको सीमा नजिकै रुसी इलाकामा रहेको इन्धन डिपोमा आगलागी भएको र यसको कारण युक्रेनी हेलिकप्टरले गरेको आक्रमण रहेको आरोप रुसी अधिकारीको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा साझा गरिएको भिडियोमा सीमा क्षेत्रबाट करिब ४० किलोमिटरको दूरीमा रहेको बेल्गोरोडस्थित आवासीय भवन नजिकै रहेको डिपोबाट आगोको मुस्लो दन्किँदै गरेको देखिन्छ । केही भिडियो क्लिपमा रकेटले इन्धन डिपोलाई प्रहार गर्दै गरेको पनि देखिन्छ ।
रुसले आक्रमणको आरोप लगाए पनि युक्रेनका शीर्ष सुरक्षा अधिकारीले इन्धन डिपोमा भएको आक्रमणमा रुसी सुरक्षाकर्मीको संलग्नता नरहेको बताएका छन् । ‘केही कारणले यो आक्रमणमा हामी संलग्न रहेको उनीहरुले बताइरहेका छन् । तर यो सत्य होइन’, युक्रेनको सुरक्षा परिषदका सचिव ओलेक्सी डानिलोभले बताएका छन् । युक्रेनका विमानले यसअघि रुसी भूमिमा निशाना बनाएको प्रमाण छैन ।
तर बेल्गोरोडका गर्भनरले भने युक्रेनले आक्रमण गरेको आरोप लगाएका छन् । यस्तै रुसी रक्षा मन्त्रालयले पनि युक्रेनी एमआइ–२४ हेलिकप्टरले इन्धन डिपोमा मिसाइल आक्रमण गरेको आरोप लगाएको छ । सो इन्धन डिपो रुसी सैनिकसँग सम्बन्धित नरहेको रक्षा मन्त्रालयको भनाइ छ ।
यस्तै राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले घटनाले जारी शान्ति वार्तालाई प्रभावित पार्न सक्ने चेतावनी दिएका छन् । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । रुसी आक्रमणको निशानामा युक्रेनका सार्वजनिक स्थल, आवासीय क्षेत्र, अस्पताल, विद्यालय, सर्वसाधारणले आश्रय लिएका स्थानसहित आएका छन् ।