Logout

चर्चामा

बृजेश गुप्ता समूह एमालेमा प्रवेश , त्रिपाठीलाई ठुलो धक्का

975 Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता आफ्नो समूहसहित नेकपा एमाले प्रवेश गरेका छन् । गुप्ता समूहको एमाले प्रवेश हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीलाई धक्का मानिएको छ ।

प्रतिनिधिसभा सदस्य गुप्ता, लुम्बिनी प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव लगायतलाई पार्टी प्रवेश नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गर्नुभएको हो  । त्रिपाठी, गुप्ता, श्रीवास्तव लगायतले २०७४ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहको नामबाट प्रतिस्पर्धा गरेका थिए, तर चुनाव चिह्न सूर्य नै लिएका थिए ।

प्रतिनिधिसभामा त्रिपाठी र गुप्ता निर्वाचित भए भने लुम्बिनी प्रदेशसभामा श्रीवास्वत र अजय शाही निर्वाचित भएका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट रहेर काम गरेका त्रिपाठी केपी शर्मा ओली नेतृत्वको सरकारमा केही महिना स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत भए ।

उनले गत मंसिरमा आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाए । त्रिपाठीले जनता प्रगतिशील पार्टी बनाउँदा गुप्ता समूहका नेताहरु खुलेका थिएनन् । एक नेताका अनुसार गुप्ताले प्रदेशसभा सदस्यहरुसँग समेत छलफल गरेर निर्णयमा पुग्ने बताएका थिए । तर अन्तत: एमाले प्रवेश गरेका  छन् ।

गुप्ताले पनि सानो पार्टीमा बसेर केही नहुने भएकाले एमाले प्रवेश गरेको बताएका छन् । ‘मलाई अब साना पार्टी बनाएर जान ठीक लागेन’ उनले भने, ‘संविधान संशोधनका लागि दुई तिहाइ चाहिन्छ, सानो सानो पार्टी बनाएर केही हुन्न । ठुलै पार्टीको साथ लिएर जानुपर्ने भएपछि किन बाहिर रहेर संघर्ष गर्ने ? भित्रै रहेर लडौं भन्ने लाग्यो र एमाले प्रवेश गरेको  हुँ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार