Logout

चर्चामा

प्रतिनिधिसभाको अर्को बैठक चैत्र १८ गते

706 Shares

काठमाडौं ।  प्रतिनिधिसभाको मंगलबारको बैठक चैत्र १८ गते बस्नेगरी स्थगित भएको छ। मंगलबारको बैठकमा तीनवटा वार्षिक प्रतिवेदन पेश भएका छन्।  

न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक प्रतिवेदन तथा महान्यायाधीवक्ता कार्यालयको आर्थिक वर्षको प्रतिवेदन र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन पेश भएका छन्। 

बैठकको शून्य समयमा सांसदले नेपालको भूमि संरक्षणदेखि संसद्ले बिजनेस नपाएसम्मका सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकमा प्रतिनिधिसभाका सांसदहरुले सरकारसमक्ष विभिन्न माग राखेका छन्। यस्तै सांसद तुलसी थापाले नेपाल-भारत सिमानामा पर्ने नेपाली भूमि अतिक्रमण हुँदै गएकाले संरक्षण गर्न सरकारसँग आग्रह गरिन्।

नेपाली कांग्रेस सांसद दिलेन्द्र बडुले नेपालको भूमि भारतीयले मिच्दा पनि सरकार चुप लागेर बसेको भन्दै आपत्ती जनाएका थिए। उनले छिटोभन्दा छिटो दार्चुलाको महाकाली नगरपालिका वडा ५ गल्फाइ गाउँको पारिपट्टीको करिब ३५ हेक्टर जमिन भारत सरकाले तीन महिनायता नेपाल सरकारको सहमतिबिना एकतर्फी ढंगले तटबन्ध बनाएको भन्दै तत्काल रोक्न माग गरे। यस्तै अर्का कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्री केपी ओली बिजनेस नदिएर संसद कामबिहीन बनाएको आरोप लगाए।

सांसद खगराज अधिकारीले संसद्मा अविश्वासको प्रस्ताव राख्न डराउने तर प्रधानमन्त्रीलाई नैतिकताको पाठ सिकाउने विषय उपयुक्त नदेखिएको बताए। यस्तै सांसद खेमप्रसाद लोहनीले रोकिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए। सांसद आशाकुमारी विंकले बझाङको सैपालका बासिन्दाले यातायातको कठिनाइका कारण चामलसमेत ढुवानी गर्न नपाएको हुँदा सडक निर्माण गर्न सरकारसँग आग्रह गरिन्।

सांसद घनश्याम खतिवडाले लगानी ठेक्का अलपत्र परेका विषय सार्वजनिक भइरहेको हुँदा त्यसतर्फ सजग र सचेत भई काम गर्न सरकारलाई सुझाव दिए। सांसद अञ्जना विशङ्खेले कोभिड–१९  पुनः फैलिएको हुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनताको स्वास्थ्यलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताइन्।

सांसद उमा रेग्मीले दैनिकजसो छ महिला र  किशोरीको बलात्कारपछि हत्या भएका घटना रोक्न सरकारले किन प्राथमिकतामा राखेन भनी जिज्ञासा राखिन्।  सांसद कृष्णभक्त पोखरेलले चितवन राष्ट्रिय निकुञ्जमा  रहेको विश्वको दुर्लभ एकसिँगे गैंडा गणना सुरु भएकामा सरकारलाई धन्यवाद दिँदै संरक्षणमा सहयोग गर्न सबैलाई आग्रह गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार