एजेन्सी । मेक्सिकोमा गोली हानेर ९ जनाको हत्या गरिएको छ ।
मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधवार गोली हानेर एकै घरका ९ जनाको ज्यान लिइएको त्यहाँको प्रहरीले जनाएको छ । मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको अनुसन्धान शुरू भएको प्रहरीले जनाएको छ ।
उक्त शहरको एक निजी बस्तीमा भएको सो हत्याकाण्डमा तीन जना महिला पनि रहेका छन् । पुएबला प्रान्तको न्यायाधिवक्ताको कार्यालयले सो घटनाको अनुसन्धान शुरू भएको र यसमा लागुऔषधका कारोबारीहरूको हात रहेको अनुमान गरिएको बताएको छ ।
मारिएकाहरूलाई टाउको, खुट्टा र छातीमा गोली हानिएको सो कार्यालयले जानकारी दिएको छ । हत्या गरिएको सो घरको वरपर यसअघि पनि लागुपदार्थको किनबेच गर्ने गरिएको थियो । त्यसैले यो हत्याकाण्ड पनि लागुपदार्थको किनबेचमा संलग्न समूहहरूको झगडाका कारण हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
मारिएकाहरूको पहिचान हुन सकेको छैन । तीमध्ये कतिपय सोही घरका भए पनि सबैजना भने नभएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।