काठमाडौं । राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेकेाे छ ।
आइतवार संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो । सोमवार बसेको सचिवालय बैठकमा सत्तारुढ दलहरुले एमसीसी पास गरेकोबारे छलफल भएको थियो ।
सोही बैठकले सत्ता गठबन्धनबाट आफू अलग हुने निर्णय गरेको हो । अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै अलग भएको कुरा पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘पाँच दलीय गठबन्धनभित्रको हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसदद्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरुको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ।
गठबन्धनबाट देशको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर क्षती पुगेकोले त्यसबाट हाम्रो पार्टी आज कै मितिदेखि अलग भएको घोषणासमेत गर्दछौँ।’ सत्ता गठबन्धनका अन्य दलहरूले एमसीसीमाथि राखेको ‘व्याख्यात्मक टिप्पणी’लाई आफ्ना कार्यकर्ताहरुको एमसीसी विरुद्धको आक्रोश मत्थर पार्न गरिएको नौटङ्की बाहेक अरू केही नभएको समेत जनमोर्चाको ठहर छ ।
उसले अब पनि एमसीसीविरुद्धको संघर्षलाई निरन्तरता दिने निर्णय गरेको जनाइएको छ ।