काठमाडौं । प्रमुख सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना (एमसीसी) पास भएकोमा खुशी ब्यक्त गरेका छन् ।
सोमबार खुमलटारस्थित आफ्नै निजी निवासमा पत्रकार सम्मेलन गरेर अध्यक्ष प्रचण्डले आइतबार संसदबाट एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन र सरकार आगामी निर्वाचनसम्म रहिरहने बताए। उनले संसदबाट ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएकोमा खुसी व्यक्त गरेका हुन् ।
‘अस्तिसम्म यो गठबन्धन रहला या नरहला र वर्तमान सरकार पनि रहला कि नरहला भन्ने थियो, हामीले सरकार जोगाउने र गठबन्धन टिकाउने निर्णय लियौं,’ प्रचण्डले भने, ‘संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेपछि गठबन्धन र सरकार टिकिरहने निश्चित भएको छ । यो ठूलो उपलब्धी हो ।’
केही विवादित विषयलाई स्पष्ट पारेर व्याख्यात्मक घोषणा जारी गरेर एमसीसी अनुमोदन गरिएको बताएका प्रचण्डले तत्कालीन विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको असहमतिका कारण एमसीसी अनुमोदनमा ढिलाइ भएको पनि बताए ।
केही दिन अघिसम्म एमसीसीको विरोध गरिरहेका उनले अन्ततः एमसीसी पास गरेर आफ्नो बहु रुपलाई फेरि प्रमाणित गरेको विश्लेषकहरुले जनाएका छन् ।