काठमाडौं । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ ।
मन्त्रालयले अत्यावश्यक कामबाहेक सबै नागरिकलाई तत्काल स्वदेश फर्किन भनेको हो । बुधबार विज्ञप्ति जारी गरी अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यवसायिक हवाई उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको छ ।
पछिल्लो समय रुस र युक्रेनबीच तनाव बढ्दै गएपछि हिंसात्मक घटना हुनसक्ने भन्दै मन्त्रालयले सचेत हुन आग्रह गरेको हो । यस्तै मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत अनुरोध गरेको छ।
युक्रेनका लागि नेपाली राजदूतावास, बर्लिन युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको मन्त्रालयले जनाएको छ।
आवश्यक परेमा बर्लिन र मस्कोस्थित दूतावासमा सम्पर्क गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।
