हुम्ला। सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि अन्तरजिल्ला जोड्ने हवाई सेवा पाँचौँ दिनपछि हवाई सेवा सञ्चालनमा आएको छ। विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ फालेपछि हवाईजहाज सञ्चालनमा आएको हो ।
नेपालगञ्ज र सुर्खेतबाट पाँच दिनदेखि हवाई उडान हुन नसके पनि हिउँ पन्छाउने कार्यसम्पन्न भएसँगै सीता र तारा एयरले नेपालगञ्जबाट उडान भरेको नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय सिमकोटले जनाएको छ। नेपालगञ्ज र सुर्खेतमा रोकिएका यात्रु हुम्ला पुगेका छन् भने हुम्लाबाट जिल्ला बाहिर गएका छन्।
यस्तै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटको खाद्यान्नसमेत ढुवानी भएको छ। पाँच दिनदेखि बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्यवस्तुको अभाव भएको थियो भने हवाई सेवा सञ्चालनमा आएसँगै बजारमा दैनिक उपभोग्य वस्तु मासु, तरकारीलगायत भित्रिएको छ। सीता र तारा एयरले जिल्लाका लागि उडान भरेका थिए ।