बुटवल। बुटवलमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच झडप भएको छ ।
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै गरेको प्रदर्शनका क्रममा अनेरास्ववियुका विद्यार्थी र प्रहरी बीच झडप भएको हो । उनीहरूले कालो बेलुन र ब्यानर समेत प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालयअगाडि गरेको प्रदर्शनलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो ।
झडपमा परी पाँच जना अनेरास्ववियुका नेता कार्यकर्ता घाइते भएका छन् । झडपमा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल, गुनबहादुर श्रेष्ठ लगायत घाइते भएको अनेरास्ववियुले जनाएको छ ।
नगर कमिटी अध्यक्ष रोशन घिमिरको टाउकोमा गम्भीर चोट लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।