काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उम्मेद्वारी दिने तयारीमा रहेका तीन चर्चित नेताले उम्मेद्वारी दर्ता गराएनन् । ती हुन रामचन्द्र पौडेल , कृष्णप्रसाद सिटौला र डा. नारायण खड्का ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल सभापतिका तीव्र आकांक्षी थिए । त्यतिमात्रै होइन उनी टिमको नेतृत्वसमेत गर्थे । बेला बेलामा देउवाले गरेका कामको खुलेर आलोचना गर्न सक्ने हैसियत पनि राख्थे ।
तर उनै पौडेल कांग्रेसको १४औँ महाधिवेशनको दौडबाटै बाहिरिए ।शनिबार बिहानसम्म पनि अनेक प्रयास गर्दा पनि पौडेल उम्मेद्वारी दिन तयार भएनन् ।
उनले आफ्नो टिमबाट एकजनामात्रै उम्मेद्वारी हुने सर्त कायम राखिरहे । त्यसमा केही लचिलो डा. शेखर कोइराला भए पनि प्रकाशमान सिंहको अडान भने कायमै रह्यो ।
पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै भने, “मैले कांग्रेसलाई जुनरुपमा बुझ्दै आएको थिएँ, त्यो कांग्रेस विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ । पार्टी सत्ताको भ¥याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरु बीपी, गणेशमान र किसुनजीले आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, संघर्ष गर्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेछ । कांग्रेसलाई आज केवल सत्ताको भ¥याङमा सीति हुन गएको मलाई महसुस भइरहेको छ । त्यो पनि संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको अवस्था छ ।”
त्यस्तै नेपाली कांग्रेसमा सभापतिको आकांक्षा राखेका अर्का नेता थिए कृष्णप्रसाद सिटौला । उनी पनि १४औँ महाधिवेशनमा उम्मेद्वारी नदिने नेतामा पर्छन् ।
उनले आफ्नो टिमका लागि सभापति शेरबहादुर देउवासँग ‘बार्गेनिङ’ गरेर महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्यहरु प्यानलमा पार्न सफल भए पनि आफूले भने उम्मेद्वारी दिएनन् ।
उनी पहिले सभापतिको आकांक्षी थिए भने पछि देउवाको उपसभापति रहेर पार्टीलाई अघि बढाउने योजनामा थिए । तर महामन्त्रीमा प्रदिप पौडेललाई अघि सार्दै देउवाको प्रस्तावक बस्न तयार भएका छन् ।
अर्का नेता डा. नारायण खड्का पनि यसअघि पदाधिकारीको चर्चामा थिए । परराष्ट्रमन्त्रीसमेत रहेका खड्काले केन्द्रीय सदस्यमासमेत उम्मेद्वारी दिएनन् ।