Logout

चर्चामा

देउवालाई ठूलो धक्का, सभापतिमा बिमलेन्द्रको उम्मेद्वारी पक्का

406 Shares

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा संस्थापन समुहबाटै दुई जना उम्मेदवार बन्ने निश्चित भएको छ । सभापति शेरबहादुर देउवाले महाधिवेशनबारे छलफल गर्न बिहीबार बोलाउनु भएको आफू निकट शीर्ष नेताहरुको बैठक मा उपसभापति विमलेन्द्र निधिले सभापति नछाडने बताउनु भएपछि संस्थापनबाटै दुई जना सभापतिको उम्मेद्वार हुने निश्चित भएको हो । बैठकबाट देउवा र निधिले लोकतान्त्रिक प्रतिस्पर्धाका लागि आपसमा शुभकामना आदान(प्रदान गर्दै छुट्टिनु भएको छ ।

एक नेताले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार बैठकमा सभापति देउवाले १४ औं महाधिवेशनमा अन्तिम कार्यकालका लागि आफू सभापतिको प्रत्याशी बन्ने बताउनु भएको छ । उहाँले बैठकमा सहभागि उपसभापति निधिलाई आफूले यसअघि नै आग्रह गरिसकेको भन्दै सघाउने आग्रह गर्नुभएको थियो ।

तर देउवालगत्तै आफ्नो धारणा राख्नुभएका उपसभापति निधिले विगतमा नै आफ्नो उम्मेदवारीबारे सभापतिसँग छलफल भइसकेको भन्दै पछि नहटने प्रष्ट पार्नुभयो । ‘पहिले पनि शेरबहादुरजीलाई उम्मेदवारीबारे भनेको छु । मैले सधै उहाँलाई सहयोग गरेको हुँ , अब उहाँले मलाई सहयोग गर्नुपर्यो’, निधिले भन्नुभयो । उपसभापति निधिले आफ्नो उम्मेदवारीको औचित्य प्रस्तुत गर्दै देउवालाई कार्यकर्ता र जनताको मुड बुझ्न समेत आग्रह गर्नुभएको थियो ।

निधिको सो भनाईपछि देउवा अलिक जंगिदै तत्कालै निधिलाई ‘मेरो शुभकामना छ’ भनी जवाफ फर्काउनु भएको थियो । देउवाले कांग्रेसको विधान अनुसार सभापतिमा लड्ने अधिकार आफूलाई पनि भएको भन्दै आफू उम्मेदवारीबाट पछि नहट्ने प्रष्ट पार्नुभएको छ । निधिले सभापति लड्न आफूले तयारी अगाडि बढाएको उल्लेख गर्दै पार्टीभित्र नयाँ नेतृत्वको खोजी भइसकेको विषयलाई नजरअन्दाज गर्न नहुने देउवालाई जवाफ दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार