काठमाडौं । स्पेनिस ला लिगाको क्लब बार्सिलोनाले पूर्व कप्तान जाभी हर्नान्डेजसँग मुख्य प्रशिक्षकका लागि २०२४ सम्मका लागि सम्भैता भएको जनाएको छ । एक साताअघि रोनाल्ड कोम्यानलाई बर्खास्त गरेपछि बार्सिलोना मुख्य प्रशिक्षकबिहीन थियो ।
क्याटलान क्बलले शुक्रबार मात्र ४१ वर्षे जाभीलाई बार्सिलोना फर्काउनका लागि कतारी क्लब अल सादबाट ग्रिन सिंग्नल पाएको थियो । जाभीको सम्झैता अनुसार जरिवाना रकम तिर्न राजी भएपछि बार्सिलोनाले पूर्व मिडफिल्डरलाई प्रशिक्षकका रुपमा फर्काउन सफल भएको हो । जाभीले बार्सिलोनाबाट १७ वर्ष खेले । उनले ७६७ खेल खेलेर २५ उपाधि जितेका थिए ।
जसमा चार च्याम्पियन्स लिग र आठ ला लिगाको उपाधि छ । ‘‘क्लबको नयाँ प्रशिक्षकका लागि जाभी हर्नान्डेजसँग बाँकी सिजन र थप दुई वर्षका लागि सम्झैता भएको छ,’’ बार्सिलोनाले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘जाभीलाई घरमा पुनः स्वागत छ । जाभी बार्सिलोना युथ टिमका उत्पादन हुन् । उनको अहिलेको क्लब अल सादको मालिकसँग पछिल्लो केही दिनको निरन्तर सम्वादपछि हामीबीच सहमति भएको हो ।’’ २७ अक्टोबरमा रायो भालेकानोसँग १–० ले पराजित भएपछि बार्सिलोनाले नेदरल्यान्ड्सका कोम्यानलाई बर्खास्त गरेको थियो । बार्सिलोना अहिले लिगको नवौं स्थानमा छ ।
जुन शीर्ष क्लब रियाल सोसिडाडभन्दा ९ अंकले पछाडि हो । त्यसपछि बार्सिलोनाले ‘बी’ टिमका प्रशिक्षक सेर्गी बर्जुआनलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको थियो । बर्जुआनले आज राती हुने सेल्टा भिगोविरुद्धको खेलमा पनि बार्सिलोनाको जिम्मेवारी सम्हाल्नेछन् । बार्सिलोनाले जाभीलाई सोमबार मात्र घरेलु मैदान क्याम्प नोउमा सार्वजनिक गर्नेछ । ‘‘मैले कहिल्यौं ‘गुड बाई’ भनेको थिइँन । मैले फेरी भेटौंला भनेको थिए । क्याम्प नोउ सदैव मेरो घर हो,’’ समर्थकलाई सम्बोधन गरेको भिडियो सन्देशमा जाभीले भनेका छन्, ‘‘तपाईंहरु नै मेरो समर्थक हो । मेरो सबैथोक हो । बार्सिालेना त्यही क्लब हो जसलाई मैले हिजो पनि माया गर्थे, आज पनि गर्नेछु र भोली पनि गरिरहने छु । म फेरी घर फर्किदैछु । फेरी भेटौंला ।’’
बार्सिलोना प्रशिक्षकका रुपमा जाभीको पहिलो खेल स्थानीय डर्बी स्पानियोलविरुद्ध २० नोभेम्बरमा हुनेछ । जाभी २०१५ मा खेलाडीका रुपमा कतारी क्लब अल सादसँग अनुबन्ध भएका थिए । २०१९ मा खेलाडी जीवनबाट सन्यास लिएपछि जाभी क्लबको प्रशिक्षक बनेका थिए ।
गत अप्रिलमा जाभीले अल सादलाई घरेलु लिगको उपाधि जिताएका थिए । जाभी २०२० मै अर्नेस्टो भालभाार्डे बर्खास्त भएपछि पनि बार्सिलोना आउने चर्चा थियो । तर, त्यसपछि बार्सिलोनाले क्वेक सेटिनलाई अनुबन्ध गरेको थियो । सेटिनलाई बर्खास्त गरेपछि बार्सिलोनाले रोनाल्ड कोम्यानलाई क्लबको जिम्मेवारी दिएको थियो ।