Logout

चर्चामा

संसदमा जबर्जस्ती गरियो, आन्दोलन जारी रहन्छ : एमाले

1.1k Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तापक्षले एकतर्फीरूपमा बजेट पारित गरेको भन्दै असन्तुष्टी जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक पारित गरेपछि एमालेले प्रतिपक्षको आवाजलाई संसदमा दवाउन खोजिएका आरोप लगाएको हो ।

पत्रकारहरूसँग कुराकानी गर्दै एमाले मुख्य सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली अलोकतान्त्रिक र संसदीय मर्यादाविपरीत रहेको बताए । ‘संसदमा प्रस्तुत भएका विषयभन्दा पनि सभामुखको कार्यशैली र उहाँले एमालेप्रति गरेको विभेदका कारण हामी आन्दोलनमा छौं ।

उहाँले प्रवृत्ति नसच्याएसम्म र एमालेमाथि भएको अन्याय नहटेसम्म अवरोध जारी रहन्छ’, भट्टराईले भने । उनले संसदको आठौं अधिवेशनमा विजनेश दिन नसक्ने सत्ता पक्षले अहिले एमालेले जनताको आवाज कुण्ठित गर्यो भनी आरोप लगाउनु हास्यास्पद रहेको बताए । ‘संसदको आठौं अधिवेशन सम्झना दिलाउन चाहन्छु ।

साउन ३ देखि ३२ गतेसम्म २९ दिन उहाँहरुले संसदलाई बिजनेश दिनुभएन । त्यतिबेला सोध्नुपर्‍थ्यो जनताको आवाज बन्द किन गरियो भनेर अहिले एमालेले ५ पटक संसदमा अवरोध गर्दैमा जनताको आवाज कसरी बन्द हुन्छ ?’, भट्टराईले प्रश्न गरे । उनले सभामुखले एमाले सांसदमाथि कारवाहीको सूचना टाँस्ने वा मार्गप्रशस्त गर्नेमध्ये एक बाटो रोज्नुपर्ने बताए ।

संसदमा जबर्जस्ती गर्न खोजिएको भन्दै भट्टराईले निकास दिने जिम्मेवारी प्रतिपक्षको नभए सत्तापक्ष र सभामुखको हुने बताए । विनियोजन विधेयक पारित भएलगत्तै एमाले नेताहरू संसद भवनमै छलफल जुटेका थिए । संसद भवनबाट बाहिरिने क्रममा ‘सत्तापक्षले पेल्यो नि ?’ भन्ने पत्रकारको प्रश्नमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘पेल्न दिनु’ भन्ने जवाफ फर्काएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार