काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए ।
माधव नेपालहरुले गरेको गल्ती सानोतिनो नभएको भन्दै ओलीले उनीहरुकै कारण आफ्नो सरकार ढलेको, पार्टी विभाजित भएको र दक्षिणपन्थीको सरकार बनेको दावी गरे ।
ओलीले भने, ‘गल्ती सानोतिनो होइन । कम्युनिस्ट सरकार ढल्यो, पार्टी विभाजन भयो । दक्षिणपन्थी सरकार बन्यो । अग्रगमनका सपना, सामाजिक न्याय सुशासन र विकासका सपना कुठाराघात भयो, गम्भीर धक्का लाग्यो । यी सबैका बाबजुद बाटो बिराएकाहरु मुख्य मुख्य अपराधीबाहेक । …अब माधव नेपालजस्ता आन्दोलनरविरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन । जसले बामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने दक्षिणपन्थीको समर्थनमा फ्लोर क्रस गर्ने विश्वासको मतमा भोट हाल्ने, आफ्नो पार्टीेको अध्यक्ष, आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गई त्यो सरकार ढाल्ने, अनि दक्षिणन्थी सरकार गठन गरेर त्यो सरकारलाई समर्थन दिन फ्लोर क्रस गर्ने, इज्जत छोडेर पछाडिको बेन्चमा बसेर, पछडिको ढोकाबाट लुसुक्क छिरेर बेइमानीपूर्ण ढंगले समर्थन दिने, अर्काको पार्टीलाई सर्मथन दिन, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर विश्वास जाहेर गर्न ह्वीप उल्लंघन गरेर, फ्लोर क्रस गरेर भोट हाल्न जाने यो भन्दा निर्लज्ज, यो भन्दा प्रतिक्रियावादीहरुको दलालीको काम के हुन्छ ? त्यसकारण यस्ता प्रतिक्रियावादीहरुका मतियार यस्ताका लागि छैन ठाउँ छैन ।
माधव नेपालबाहेकका अरु भने पार्टीमा फर्किएमा मौका दिने ओलीले बताए । तर उनीहरुलाई पनि धेरै समय नकुर्ने ओलीले बताए । ‘अरु साथीहरु गल्ती महसुस गरेर फर्किनुहन्छ भने मौका दिन्छौं । आउनुस् यो पार्टी हामी सबै मिलेर बनाएका हौं । मैले पटक पटक भनेको छु । हामी सबैले बनाएका हौ ं। गल्ती भइहाल्यो भने पनि त्यसलाई सच्याएर आउनुस् काम गरौं’ उनले भने । ओलीले अघि भने, ‘अहिले पनि कतिपय साथीहरुसँग कुरा भइरहेको छ । जो जो आउनुहुन्छ आउनुहुन्छ भने, आउनुहुन्न भने पनि धेरै चिन्ता गरिरहनुपर्ने छैन । जो आउँदैन आउँदैन, समय अगाडि बढिररहेको हुन्छ मान्छे मात्र छुट्छ ।’
अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे । पार्टीमा खुट्टा तान्नेहरु कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने उनको भनाइ छ । ‘अबको निर्वाचनमा हामी बहुमत ल्याएर देखाउँछौं ।
बहुमत ल्याएर किन देखाउँछौं भने, पार्टीमा खुट्टा तान्ने तत्व छैन । अगाडि बढ्न खोज्यो खुट्टा तान्ने, उम्मेदवार उठाउन खोज्यो जो जित्दैन उसैलाई अघि सार्ने, जो पार्टीप्रति निष्ठावान छैन, उसलाई उम्मेदवार बनाउनुपर्ने । फ्लोर क्रस गरेर शेरबहादुर देउवाका पछि पछि कुदेकाहरु छन् नि त्यस्तै तत्व । त्यस्तै सिफारिसबाट हामीले बाध्य भएर उम्मेदवारी दिनुपरेको, पार्टी लागेर जिताउनुपर्यो, उम्मेदवारी दिएपछि त जिताउनुपर्यो’ उनले भने ।