Logout

चर्चामा

भैरहवा एयरपोर्ट निर्माणमा ब्यापक भ्रष्ट्रचार,अवौं लागत बढ्दै

987 Shares


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवा एयरपोर्टको दोस्रो टर्मिनल भवन निर्माण लागत १२५ प्रतिशतले बढाउने तयारी गरेको छ । प्राधिकरणले यसअघिको लागत अनुमान भन्दा करिब १२ अर्ब रुपैयाँ बढी लागत लाग्ने गरी भवन निर्माण प्रक्रिया अघि बढाइएको हो ।

यसअघि भैरहवाको दोस्रो टर्मिनल भवन निर्माणको लागि जम्मा ८० मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको थियो । अहिले भवनकोे डिजाइन परिवर्तन गरेर आर्थिक चलखेल गर्न मिल्ने गरी १८० मिलियन अमेरिकी डलर पुर्याएर ठेक्का लगाउने तयारी गरिएको छ । पहिला अनुमान गरिएको लागत अनुमानलाई पन्छाएर आर्थिक घोटोला गर्न मिल्ने गरी भवन निर्माणका लागि १०० मिलियन डलर आर्थिक भार राज्यलाई थपिने गरी लागत अनुमान निर्धारण गरी ठेक्का लगाउन लागिएको प्राधिकरण उच्च स्रोतले जानकारी दिएको छ । 

नेपाल सरकारको २० मिलियन र एशियाली विकास बैंक ९एडीबी० को ६३।७ मिलियन अमेरिकी डलरमा निर्माण सम्पन्न गर्ने यस अघिको लागत इष्टमिटलाई तुहाएर नयाँ लागत इष्टमिट गरेर आयोजना निर्माणको लागि १८० मिलियन खर्चिने गरी आशय पत्र आव्हान गर्न लागिएको छ, प्राधिकरण उच्च स्रोतले भन्यो ।  

प्राधिकरणले राष्ट्रिय गौरवका आयोजना ९पोखरा, भैरहवा र निजगढ० हेर्नको लागि प्रमुखको भुमिका प्रदिप अधिकारीलाई दिइएको छ । उनले यस अघि गरिएको डिजाइन नै परिवर्तन गरेर सरकारलाई थप भार पर्ने गरी दोस्रो टर्मिलन भवन निर्माणको लागि नक्साको डिजाइन गराइ राखेका छन् । अहिले निर्माणाधिन अवस्थामा रहेको पहिलो टर्मिनल भवन सन् २०२५ मै स्याचुरेशन हुने देखिएपछि दोस्रो टर्मिनल बनाउन लागिएको हो । 

नेपाल सरकार र एडीबीको ऋणबाट बन्न करिब ९ अर्ब लागतमा बन्छ भनिएको उक्त भवन अहिले २१ अर्बभन्दा बढी खर्च लाग्ेन गरि बनाउन लागिएको हो । आधुनिक खालको बेसमेन्टमा भवन निर्माण गर्ने भन्दै राज्यलाई व्ययभार थपिने गरी उक्त आयोजना अघि बढाउन लागिएको बुझिएको छ । यस अघि पनि उनै प्रमुख अधिकारीले एभिएशन सम्बन्धी यस्तै ठेक्कामा अनेकौं हवला दिएर आर्थिक चलखेल गर्ने गरेको आरोप उनीमाथि लगाएका छन् । 

अहिले दोस्रो टर्मिनलको लागत इष्टमिट भइरहेको छ । नयाँ डिजाइन बनाउँदै गरेकाले यति लागत लाग्छ भन्ने अवस्थामा प्राधिकरण नपुगिसकेको राष्ट्रिय गौरवका आयोजना प्रमुख प्रदिप अधिकारीले बताए । ‘यसको फाइनल इष्टमिट केहि दिनमै तयार हुने त्यसपछि मात्रै कति लागत लाग्छ भनेर भन्न सकिन्छ,’ उनले भने ‘यस अघि अनुमान मात्रै गरिएको हो । अहिले नयाँ डिजाइनका साथ अत्याधुनिक उपकरण जडान गरिएको नयाँ भवन बनाउन लागिएको हो । 

त्यस्तै प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पनि भवनको नयाँ डिजाइन हुँदै गरेकाले पहिला गरिएको लागत अनुमानले नपुग्न सक्ने बताए । ‘भवनको नक्सा डिजाइन भइरहेको छ, कुन साइजको बनाउने भन्ने विषय अहिले छलफलकै क्रममा छ’ उनले भने ‘लागत टुंगो लगाउन अझै केही समय लाग्छ । 

राष्ट्रिय गौरवका आयोजनाको प्रमुखका रुपमा कार्यभार सम्हालेका अधिकारीले गुरुयोजना निर्माणका लागि भएको प्राविधिक छनोटमा पनि मापदण्ड अनुसार मूल्यांकनमा उच्च स्थान पाएको कम्पनीलाई पाखा लगाएर कम मूल्यांकन भएको कम्पनीलाई छनोट गरेको आरोप उनीमाथि लागेको छ । सरोकारवालाहरूले उनी आर्थिक चलखेलका विषयमा ठूलो खेलाडी भएको बताएका छन् ।  
शक्ति केन्द्र आफ्नो मुठ्ठीमा भएको भन्दै आर्थिक भागबण्डाको समेत हवला उनले गर्दै आएका छन् । ठेकेदार कम्पनीहरूलाई मन्त्रालयदेखि प्रधानमन्त्रीका सल्लाहकार र अख्तियारसम्म पहुँच देखाउँदै प्रदीप अधिकारीले प्राधिकरणका ठेक्कामा आफूलाई कमिसन दिनेलाई मात्र दिने, प्राविधिक मूल्यांकनमा बढी नम्बर दिने गरेका समेत बुझिएको छ । 

कन्सलटेन्सी र कन्ष्ट्रक्सन दुबैमा अधिकारीसँग सेटिंग नहुने ठेकेदारले कुनै पनि आयोजनाको ठेक्का पाउन सम्भव छैन ।  प्रमुख अधिकारीले बिड गरिएको रकमको ३० प्रतिशतसम्म खुलेआम पैसा माग्ने गरेको कम्पनीहरुले सूचना दिएका छन् ।
उनले ठूलै आर्थिक लेनदेन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । गएको माघ ७ गते अख्तियारमा परेको उजुरीको दर्ता नम्बर ‘सी ०२२५८९’ रहेको छ । 

कति छ प्राधिकरणको ऋण ?
गत आर्थिक वर्ष २०७६÷७७ को अन्त्यसम्म पोखरा, गौतमबुद्ध आयोजना तथा हवाई यातायात सुधार आयोजनामा गरी १८ अर्ब ४२ करोड ऋण रहेको छ । भैरहवा गौतमबुद्ध एयरपार्ट दोस्रो टर्मिनल निर्माणका लागि एडीबीसँग लिन लागेको सहयोग पनि ऋण नै हो । आजको विदेशी विनिमय मूल्य अनुसार ६३।७ मिलियन अमेरिकी डलरको बिक्री मूल्य ११७।१२ पैसाको दरले हिसाव गर्दा करिब ७ अर्ब ४६ करोड रुपैयाँ हुन आउँछ । त्यसो त अहिले भैरहवा विमानस्थलको दोस्रो टर्मिनल बनाउन खर्च लाग्ने अनुमान गर्न लागिएको रकम १८० मिलियन डलरको हिसाव गर्दा २१ अर्ब रुपैयाँ नाघ्छ । 

प्राधिकरणको हालको ऋण र अब थपिने ऋण भारको हिसाव गर्दा ३९ अर्ब पुग्ने देखिन्छ । यदि एउटा आयोजनको एउटा युनिट बनाउन यत्रो ठूलो रकम खर्च गर्दा प्राधिकरणले अघि बढाएको अन्य आयोजनालाई समेत प्रभाव पर्ने देखिन्छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समेत अन्य कामलाई अगाडि बढाउन अप्ठ्यारो पर्ने देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार