काठमाडौँ । कर्णालीमा नेपाली कांग्रसेले सरकारमा सहभागि हुने आफ्ना मन्त्री माथि १३ बुँदे आचारसंहिता जारी गरेको छ। कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले शनिबार मन्त्रीहरुका लागि आचारसंहिता बनाएको हो ।
कांग्रेसले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढा क्षेत्री र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई पठाउने सिफारिस गरेको छ । दुबै मन्त्रीको आईतबार सपथ हुने बताइएको छ।
के छ आचारसंहितामा ?
१३ बुँदे आचारसंहितामा भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता, सादा जीवनशैली अपनाउने उल्लेख छ ।
यस्तै, सरकारमा सहभागीले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वाभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने उल्लेख छ । यस्तै, मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यावसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्न पनि कांग्रेसले प्रतिबन्ध लगाएको छ ।
एमालेले समर्थन फिर्ता लिँदा माओवादी नेतृत्वको सरकारलाई साथ दिएको कांग्रेस झण्डै डेढ महिना पछि सरकारमा जान लागेको हो । ४० सदस्यीय प्रदेशसभामा पाँच सांसद निलम्बनमा परेसँगै हाल ३५ सांसद छन् । जसमा कांग्रेसका ६ र माओवादीमा १२ सांसद छन् ।
यस्तै, एमालेका सभामुखसहित १६ जना सांसद रहेका छन् । यसअघि पार्टीको ह्विप उल्लंघन गरेको भन्दै एमालेले चार र माओवादीले एकजना सांसदलाई कारबाही गरेपछि उनीहरुको पद गइसकेको छ ।