काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले नयाँ भेरियन्टसहितको कोरोना महामारीले आइपरेको संकटका कारण रोकिएको एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने व्यवस्थाका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।
कोभिडको महामारी लम्बिँदै गएकाले एसईई परीक्षा वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि यस्तो आग्रह गरिएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले नेपाल प्रेसलाई जानकारी दिए । यस वर्षको एसईई परीक्षा जेठ १३ गतेदेखि हुने कार्यतालिका थियो ।
कोरोना महामारीले गर्दा सबै परीक्षा स्थगित भएपछि एसइई परीक्षा पनि स्थगित भएको थियो । जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम यसअघि नै सकिसकेको थियो । ५ लाख १७ हजार विद्यार्थी एसईई परिक्षा दिने तयारीमा छन् ।
भौतिक उपस्थितिमा देशभरका २ हजार १९ केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने बोर्डले यसअघि निष्कर्ष निकालेपछि रोकिएको थियो । त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ बाट संचालन गर्ने कार्यतालिका थियो । कक्षा १२ मा करिब ४ लाख विद्यार्थी छन् ।