Logout

चर्चामा

अल्ट्रा म्याराथनमा सहभागी २१ प्रतिस्पर्धीको कठ्यांग्रिएर निधन

476 Shares

काठमाडौं ।  चीनको गान्सु प्रान्तमा आयोजना भएको सय किलोमिटरको अल्ट्रा म्याराथनमा सहभागी २१ धावकको निधन भएको छ ।

शनिबार आयोजित ६० माइलको अल्ट्रा म्याराथनमा एक सय ७२ जनाले प्रतिस्पर्धा गरेका थिए । सोही क्रममा तीव्र गतिमा हावा चल्दा र अत्यधिक चिसोका कारण सहभागीमध्ये २१ जनाको कठ्यांग्रिएर निधन भएको एजेन्सीहरूले जनाएका छन् । 

सुरक्षाकर्मीहरूले एक सय ५१ जना प्रतिस्पर्धी सम्पर्कमा आएको र उनीहरूको स्वास्थ्य सामान्य रहेको जनाएका छन् । सहभागीमध्ये अझै पाँचजना बेपत्ता छन् ।

प्रतियोगिता गान्सुको पयर्टकीय क्षेत्रमा आयोजना भएको थियो । प्रतिपर्धीहरूले एल्लो रिभर स्टोन र फोरेस्ट क्षेत्र पार गर्नुपर्ने थियो । उद्धारकर्मीहरूका अनुसार सहभागीमध्ये धेरैजसो धावकलाई हाइपोथर्मिया भएको थियो । म्याराथनमा सहभागी धावकहरूले सामान्य टी–सर्ट र पातलो ज्याकेट मात्रै लगाएका थिए । 

हाइपोथर्मिया भएकाहरूमा उच्च भेगमा पुग्दा स्वास्थ्यमा समस्या आउने गर्छ । निधन भएका धावकहरूमा पनि यही समस्या देखिएको छ । ‘दौडको क्रममा सास फेर्न गाह्रो भएर धावकहरूको निधन भएको हो,’ उद्धारकर्मीहरूले भनेका छन् । 

मौसममा अचानक गडबड भएपछि तत्कालै उद्धारकर्ता परिचालन गरिएको थियो । प्रतियोगिता सुरु भएको आधा घन्टापछि धावकहरू एउटा पहाड चढ्दै थिए ।

उनीहरू पहाड उक्लँदै थिए, बिस्तारै सिमसिम पानी पनि परिरहेको थियो । कसैले पनि अनुमान लगाउन नसक्ने गरी ठूलो हावाहुरीसँगै असिना बर्सिएको आयोजकको भनाइ छ ।

आयोजकले औपचारिक रूपमा प्रतियोगिता स्थगित नभएको जानकारी नदिएका कारण पनि धावकहरू चिसो र असिना बर्सिरहँदासमेत दौडिरहे । सामान्य ज्याकेट र टिसर्टले चिसो धान्न नसक्दा उनीहरूको मृत्यु भएको जनाइएको छ ।

चिसो खप्न नकसेका कारण उनीहरूको कठ्यांग्रिएर निधन भएको चिनियाँ समाचार संस्थान सिन्ह्वाले जनाएको छ । अल्ट्रा म्याराथनमा सहभागीमध्ये एक माओ सुझीले पहाडी क्षेत्रमा प्रवेश गरेलगत्तै मौसम अचानक बिग्रिएको जानकारी दिइन् । ‘सानो थोपाबाट सुरु भएको पानी एक्कासी ठूलो वर्षाको रूपमा लियो,’ उनले भनिन् । 

ठूलै वर्षात् हुँदासम्म धावकहरूले २४ किलोमिटरको दौड पूरा गरिसकेका थिए । धेरैजसो धावकले पहाडको टुप्पोमा विश्राम लिने सोच बनाएर दौडिएको उनले बताइन् । उनले भनिन्, ‘चिसो खप्न नसकेर तत्काल उपचार नपाउँदा उनीहरूको निधन भएजस्तो लाग्छ ।’

माओ सुझीले स्वास्थ्यमा समस्या आएपछि बीचमै दौड त्यागेको बताइन् । उनले गत वर्ष पनि यस अल्ट्रा म्याराथनमा सहभागिता जनाएकी थिइन् । पहाडी क्षेत्रको मध्यभागमै लेक लाग्ने र अचानक मौसम बिग्रने उनले बताइन् ।

‘मसँग गत वर्षको अनुभव थियो, पानी पर्न थालेपछि दौड बीचमै छाडेर होटेल फर्किएँ,’ उनी भन्छिन्, ‘त्यो पहाडी क्षेत्रको मौसमसम्बन्धी थाहा नभएका धावकहरू नै बढी जसोले ज्यान गुमाए ।’ 

यता केही धावकहरूले पानी परेका कारण रुट नै थाहा नपाएको र भिजिबिलिटीसमेत कमजोर भएको बताएका छन् । आपत्कालीन अवस्थामा गान्सु प्रान्त प्रशासनले १२ सय उद्धारकर्मीलाई दुर्घटना भएको स्थलमा पठाएको छ । उनीहरूले थर्मल इमेज ड्रोन तथा राडार डिटेक्ट प्रविधि प्रयोग गरेका छन् ।

यो उद्धारकर्मी दलले आइतबार बिहानसम्म पनि उद्धार जारी राखेको सिन्ह्वाले जनाएको छ ।  सहभागीहरूलाई मौसमसम्बन्धी जानकारी नदिएको जनाउँदै आयोजक र प्रान्त सरकारको सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार