काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप एक साता लम्बाइएको निषेधाज्ञामा पत्रकारलाई सडकमा निस्कन कडाई गरिएको छ । मंगलबार ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकमा लकडाउन पालनाका विषयमा तयार पारिएको नियमहरूमा पत्रकारले सडकमा निस्कँदा सूचना विभागले जारी गरेको परिचयपत्र अनिवार्य गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीले जारी गरिएको नियममा भनिएको छ–‘पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवत जावतमा सहजीकरण गर्ने । सूचना विभागको प्रेस पास नभएका संचारकर्मी÷कर्मचारीको हकमा सम्बन्धित संचार गृहहरूले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र सो को विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने ।’
आगामी बैशाख २९ गतेसम्म जारी निषेधाज्ञालाई थप कडा बनाउने प्रमुख जिल्ला अधिकारीहरुले निर्णय गरेका छन् । निषेधाज्ञा जारी गरेको एक सातामा संक्रमणदर कम हुनुको साटो झन् बढिरहेको छ । मंगलबार देशभर ७ सय ६० जनामा कोरोना संक्रमण फेला परेको छ भने ५५ जनाको ज्यान गएको छ ।