काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि आज पनि सांसदहरुले धारणा राख्दैछन्।
मध्यान्ह १२ बजे पोखरास्थित प्रदेश सभा भवनमा बस्ने बैठकमा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि सांसदहरुले धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र न्यौपानेले जानकारी दिए।
मुख्यमन्त्री गुरुङविरुद्ध सोमबार प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस भएपछि हिजैदेखि उक्त प्रस्तावमाथि छलफल सुरु भएको थियो।
हिजो पहिलो दिन ८ जना सांसदले धारणा राखेका सूचना अधिकारी न्यौपानले बताए। गण्डकी प्रदेशको विशेष अधिवेशनमा नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले प्रस्ताव पेस गरेका थिए।
प्रस्तावमाथि आज छलफल सकिए भोली मतदान हुने संभावना रहेको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रस्तावका विषयमा सांसदहरूले आफ्ना बिचार राखेपछि अन्त्यमा मुख्यमन्त्री गुरुङले आफ्ना भनाइ राखेर मात्रै मतदान प्रक्रिया सुरु हुने कार्यसूची छ।
अविश्वासको प्रस्तावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गरी २८ जना सांसदको समर्थन छ। यसअघि आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन लागेको थाहा पाएपछि उक्त प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङले वैशाख १ गते राति नै संसद् अन्त्य गर्न सिफारिस गरेका थिए।
लगत्तै प्रदेश प्रमुख अमिक शेरचनले सोही दिन मध्यरातमै संसद् अन्त्य गरेका थिए। तर, प्रतिपक्षी दलहरूले निवेदन दिएपछि प्रदेश प्रमुख शेरचनले संसदको विशेष अधिवेशन आह्वान गरेका थिए।