काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह आजपनि निर्वाचन आयोग जाने भएको छ ।
दल विवाद समाधानमा आयोगले ढिलाई गरिरहेको यो समूहको गुनासो छ। आज अपरान्ह संसदीय दलको बैठक बस्ने र बहुमत सांसदहरुको हस्ताक्षरसहित यो समूह निर्वाचन आयोग जाने भएको छ ।
एक सांसदले दिएको जानकारीअनुसार आज दिँउासे १ बजे संसदीय दलको बैठकपछि उपस्थित सांसदको हस्ताक्षर लिएर राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, दिनानाथ शर्मा लगायतका नेताहरू आयोगको कार्यालय जाने भएका हुन् । यसअघि हिजोपनि यो समूहका नेताहरु केन्द्रीय कमिटीले गरेका पछिल्ला निर्णय बोकेर आयोगको कार्यालय पुगेका थिए । हिजोमात्रै, नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेटवार्ता गरेका थिए ।
निर्वाचन आयोगले पनि नेकपाको आधिकारिकताबारे आजरभोलिनै निर्णय दिने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयुक्तहरुसँग यसबारेमा अन्तिम छलफल गरिरहेका छन् । आयोगले विधान, विगतका नजिर र दलसम्बन्धी ऐनलाई टेकेर निर्णय दिन लागेको बुझिएको छ ।