काठमाडौं । नेपाली महिला फुटबलको पर्याय बनिसकेकी राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला मैदानमा गोलको उत्सव मनाइरहेकी छैनन्। बरु, उनी आफ्नो करियरकै सबैभन्दा कठिन मोडमा उपचारका लागि आर्थिक सहयोग जुटाउने संघर्षमा छिन्।
घुँडाको गम्भीर चोटका कारण झन्डै सात सातादेखि मैदानबाहिर रहेकी साम्बाले सामाजिक सञ्जालमार्फत उपचारका लागि सहयोगको अपिल गरेकी हुन्। उनका अनुसार शल्यक्रिया, उपचार तथा ७–८ महिनासम्म चल्ने पुनर्स्थापनाका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।
चोट, शल्यक्रिया र जटिल अवस्था
साम्बाले उल्लेख गरेअनुसार उनको घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर क्षति पुगेको छ। यसले गर्दा साधारण उपचारले काम नगर्ने र पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
उनले पछिल्लो पटक उपचार गराएको कतारस्थित ब्कउभतबच अस्पतालको सेवा उच्चस्तरीय रहेको भन्दै यसपटक पनि त्यहीँ शल्यक्रिया गराउने इच्छा व्यक्त गरेकी छन्। उच्च जोखिम रहेको चोट भएकाले उपचारमा कुनै सम्झौता गर्न नचाहेको उनको भनाइ छ।
एन्फा र सरकारप्रति असन्तोष
तर उपचार प्रक्रिया अगाडि बढ्ने क्रममा उनले अपेक्षा गरेअनुसार सहयोग नपाएको गुनासो गरेकी छन्। साम्बाका अनुसार अखिल नेपाल फुटबल संघ ब्ल्ँब् नेतृत्वबाट सुरुमा सहयोगको आश्वासन आएको थियो। क्लबको पहलमा शल्यक्रियाको मिति समेत तय भइसकेको अवस्थामा एन्फाले आफ्नो तर्फबाट प्रक्रिया अघि बढाउने बताएको थियो।
तर समय बित्दै जाँदा एन्फाबाट आवश्यक प्रक्रिया अघि नबढेको र सम्पर्क गर्न समेत कठिन भएको उनको आरोप छ। पछि एन्फा अध्यक्षबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिइएको र अधिकतम पाँच लाख रुपैयाँ नगद सहयोग मात्र गर्न सकिने भनिएपछि यसअघि सुरु भइसकेको उपचार प्रक्रिया नै रोकिएको साम्बाले बताएकी छन्।
सरकारी तवरबाट पनि प्रयास भए तापनि प्रक्रिया अपेक्षा गरेअनुसार अघि नबढ्दा आफूले शल्यक्रिया नगरी पर्खिन नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ।
क्लबको साथ, तर अपुग रकम
हाल अस्ट्रेलियन ए–लिग अन्तर्गत ध्भििष्लनतयल एजयभलष्ह बाट खेलिरहेकी साम्बा केही समयअघि खेलकै क्रममा गम्भीर रूपमा घाइते भएकी थिइन्। क्लबले न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गराउन र बीमाबाट प्राप्त रकम उपलब्ध गराउने तयारी गरेको छ।
तर साम्बाका अनुसार त्यो रकम जटिल शल्यक्रिया र लामो समयको रिह्याबका लागि पर्याप्त छैन। यही कारण उनले पहिलो पटक खुला रूपमा आम समर्थकसँग सहयोगको याचना गर्नुपरेको बताएकी छन्।
भावुक अपिल र सामाजिक बहस
“थाकेको हो, हारेको छैन,” साम्बाले लेखेकी छन्, “पुनः एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु।”
उनको यो भावुक सन्देशसँगै सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया देखिएको छ। समर्थकहरूले सहानुभूति र साथ व्यक्त गरिरहेका छन् भने खेलाडीको उपचार, संघको दायित्व र राज्यको भूमिकाबारे गम्भीर प्रश्नहरू उठिरहेका छन्।
नेपाली महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कप्तानले उपचारका लागि आफैं सहयोग माग्नुपर्ने अवस्थाले समग्र खेलकुद संरचनामाथि पुनः बहस जन्माएको छ।