काठमाडौं, १० फागुन — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले विभिन्न बहानामा निर्वाचन स्थगित गर्ने प्रयास भइरहे पनि अब कुनै हालतमा चुनाव हुनैपर्ने बताएका छन् । राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले तोकिएकै समयमा निर्वाचन नगर्नु देश र जनताप्रति गैरजिम्मेवार व्यवहार हुने उनको भनाइ छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनका लागि सरकार, राजनीतिक दल तथा उम्मेदवारहरूले ठूलो मात्रामा स्रोत र साधन खर्च गरिसकेको अवस्थामा अन्तिम समयमा आएर चुनाव टार्ने कुरा अस्वीकार्य हुने बताए । उनले निर्वाचन रोक्ने चर्चा अझै भइरहे पनि एमाले भने कुनै अन्योलमा नपरी चुनावी तयारीमा दृढताका साथ जुटिसकेको स्पष्ट पारे ।
“हामी अब चुनाव होस् भन्ने पक्षमा छौं,” ओलीले भने, “स्थगनका कुरा अझै उठिरहेका छन् तर जेसुकै परिस्थिति आए पनि एमाले अलमलिँदैन । हामी चुनाव जित्ने तयारीमा लागिसकेका छौं र जित्नैपर्छ भन्ने आत्मविश्वासका साथ अघि बढिरहेका छौं ।”
उनले विगत करिब छ महिनादेखि आफूहरूले निर्वाचन समयमै गराउन निरन्तर पहल गर्दा समेत सरोकारवालाहरूले गम्भीरता नदेखाएको गुनासो गरे । अन्तिम घडीमा आएर चुनाव हुँदैन भन्नु गलत मात्र होइन, देशको आर्थिक व्यवस्थापनमाथि नै प्रश्न उठाउने काम हुने उनको भनाइ छ ।
“यदि चुनाव नहुने हो भने यति ठूलो खर्च हुनु हुँदैनथ्यो,” ओलीले भने, “राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेको छ, उम्मेदवारहरूले पनि ठूलो रकम खर्च गरिसकेका छन् । अब आएर चुनाव हुँदैन भन्नु भनेको जनताको विश्वासमाथि चोट पुर्याउनु हो ।”
अध्यक्ष ओलीले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै कुनै पनि बहानामा जनताको मताधिकार कुण्ठित गर्न नहुने बताए । उनका अनुसार निर्वाचन समयमै सम्पन्न भए मात्र राजनीतिक स्थिरता र शासनप्रणालीप्रति नागरिकको भरोसा कायम रहन्छ ।
यसै क्रममा उनले नाम नलिई राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै आधार कमजोर भए पनि अनावश्यक उत्तेजना फैलाउने गतिविधि देखिन थालेको टिप्पणी गरे । उनले केही दलहरू चुनाव जित्ने सम्भावना कमजोर देखिएपछि अरूको झण्डा जलाउने, निहुँ खोज्ने र चुनावी वातावरण बिथोल्ने प्रयासमा लागेको आरोप लगाए ।
“सानो भाँडोमा चर्को आगो बालेर दुध उम्लिएझैँ केही दलहरू अत्यधिक उत्तेजित देखिएका छन्,” ओलीले भने, “हार्ने डरले असभ्य व्यवहार र अवाञ्छित गतिविधि सुरु गर्नु लोकतान्त्रिक अभ्यास होइन ।”
उनले एमाले कार्यकर्तालाई कुनै भ्रम वा उत्तेजनामा नपरी संयमित र अनुशासित ढंगले चुनावी अभियानमा लाग्न निर्देशन दिए । ओलीले लोकतान्त्रिक प्रतिस्पर्धा विचार र कामका आधारमा हुनुपर्ने उल्लेख गर्दै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले समयमै निर्वाचन सम्पन्न हुनु नै मुलुकको हितमा रहेको उल्लेख गर्दै अब कुनै बहानामा पनि चुनावबाट पछि हट्न नहुने स्पष्ट सन्देश दिएका छन् ।