Logout

चर्चामा

चुनौती र संशयबीच समयमै निर्वाचन हुने वातावरण बनेको छ : अर्थमन्त्री खनाल

242 Shares

 

८ फागुन, काठमाडौं — अर्थमन्त्री रामेश्वर खनाल ले मुलुकमा देखिएका राजनीतिक चुनौती र आशंकाबीच पनि तोकिएको समयमा निर्वाचन सम्पन्न हुने वातावरण तयार भएको बताएका छन्।

शुक्रबार ललितपुरमा नेपाल पर्यटन बोर्ड र परिसूचक मिडियाले संयुक्त रूपमा आयोजना गरेको नेपाल पर्यटन गोष्ठीमा बोल्दै अर्थमन्त्री खनालले पछिल्लो राजनीतिक घटनाक्रमपछि बनेको वर्तमान सरकारलाई निर्वाचन गराउने जिम्मेवारीसहित विभिन्न दबाब र चुनौती सामना गर्नुपरेको बताए। जेनजी आन्दोलनपछि बनेको सरकारले सीमित समय र कठिन परिस्थितिमा पनि सबै सरोकारवालाको धारणा सुन्दै संयमतापूर्वक अघि बढ्दा निर्वाचनका लागि आवश्यक आधार तयार भएको उनको भनाइ थियो।

उनले लोकतान्त्रिक प्रक्रियाको निरन्तरताका लागि निर्वाचन समयमै सम्पन्न हुनु अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सरकारले कुनै पनि हालतमा तोकिएको समयभन्दा निर्वाचन पछाडि नजाने स्पष्ट पारे। “राजनीतिक अस्थिरता, अविश्वास र आशंकाका बीच पनि सरकारले धैर्य र संवादलाई प्राथमिकतामा राखेर वातावरण बनाएको छ,” उनले भने।

अर्थमन्त्री खनालले सरकारको सम्पूर्ण ध्यान निर्वाचनको तयारीमा केन्द्रित हुँदा अन्य विकास र सुधारका क्षेत्रमा अपेक्षाअनुसार काम गर्न नसकिएको स्वीकार गरे। तथापि, सीमित स्रोत र समयका बाबजुद पनि आधारभूत सुधारका केही काम अघि बढाइएको उनको दाबी छ।

पर्यटन क्षेत्रबारे बोल्दै उनले यस क्षेत्रलाई उद्योगसरह मान्यता दिने र सोहीअनुसार सुविधा उपलब्ध गराउने विषय बजेटमा समावेश गरिएको स्मरण गराए। तर, राजनीतिक संक्रमण र निर्वाचनको दबाबका कारण ती विषयहरू हालसम्म पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनले बताए। “पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आधार हो, तर अहिले सरकारको प्राथमिकता निर्वाचन भएकाले केही योजना रोकिएका छन्,” उनले स्पष्ट पारे।

उनले वर्तमान सरकारलाई सुम्पिएको मुख्य जिम्मेवारीमध्ये भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन प्रमुख रहेको उल्लेख गरे। यस अवधिमा वित्तीय अनुशासन, पारदर्शिता र नीतिगत सुधारतर्फ केही सकारात्मक कदम चालिएको उनको भनाइ छ।

अर्थमन्त्री खनालले हाल सुरु गरिएका सुधारका प्रयासहरू केवल वर्तमान सरकारमै सीमित नहुने गरी अघि बढाइएको बताए। उनले भावी सरकारले पनि ती सुधारलाई निरन्तरता दिन सक्ने वातावरण बनाउन कार्यविधि, नियम र संरचनामा आवश्यक परिवर्तन गरिएको जानकारी दिए।

उनका अनुसार निर्वाचनपछि गठन हुने सरकारले अहिले सुरु गरिएका सुधारलाई संस्थागत रूपमा अघि बढाउन सक्ने अवस्था सिर्जना गर्नु नै वर्तमान सरकारको प्रमुख उद्देश्य हो। “सरकार फेरिए पनि सुधारका काम नरोकिन् भन्ने सोचका साथ नीतिगत आधार तयार गरिएको छ,” उनले भने।

कार्यक्रममा उनले निजी क्षेत्र, पर्यटन व्यवसायी र सञ्चारमाध्यमसँग सहकार्य गर्दै निर्वाचनपछि अर्थतन्त्र चलायमान बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार