Logout

चर्चामा

रास्वपाद्वारा झण्डा जलाइएपछि एमालेको कडा प्रतिक्रिया : ‘राजनीतिक अपरिपक्वताको चरम नमुना’

241 Shares

undefined

८ फागुन, दाङ ।
नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा का समर्थकहरूले पार्टीको झण्डा जलाएको घटनाप्रति तीव्र आपत्ति जनाएको छ । दाङमा भएको उक्त घटनालाई एमालेले लोकतान्त्रिक मूल्य–मान्यता विपरीतको कार्य भन्दै ‘राजनीतिक अपरिपक्वताको पराकाष्ठा’ को संज्ञा दिएको छ ।

विहीबार राति दाङको तुलसीपुर बजार क्षेत्रमा रास्वपा समर्थकहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै एमालेको चुनाव चिह्न सूर्य अंकित झण्डा जलाएका थिए । घटनाको जानकारी सार्वजनिक भएलगत्तै एमाले वृत्तमा आक्रोश फैलिएको छ ।

एमालेले उक्त कार्यलाई केवल एउटा राजनीतिक दलमाथिको विरोध नभई आफ्ना कार्यकर्ता तथा समर्थकहरूको आस्था, भावना र विचारमाथिको आक्रमणको रूपमा व्याख्या गरेको छ । पार्टीका नेताहरूले लोकतन्त्रमा असहमति जनाउने अधिकार भए पनि त्यसको अभिव्यक्ति सभ्य, शान्त र मर्यादित हुनुपर्नेमा जोड दिएका छन् ।

यसै सन्दर्भमा शुक्रबार एमाले दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्यले विज्ञप्ति जारी गर्दै रास्वपालाई जिम्मेवार राजनीतिक दलको रूपमा प्रस्तुत हुन आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “उग्रता र उत्तेजनाको सहारामा क्षणिक चर्चामा आउने प्रयास राजनीतिक अपरिपक्वताको चरम अवस्था हो । यस्तो प्रवृत्तिले लोकतन्त्रलाई बलियो बनाउँदैन, बरु समाजमा द्वन्द्व र विभाजनलाई बढावा दिन्छ ।”

उनले लोकतान्त्रिक प्रतिस्पर्धा मर्यादित व्यवहार, तथ्यमा आधारित आलोचना र वैचारिक स्पष्टताबाट मात्रै सुदृढ हुने उल्लेख गर्दै अराजक प्रदर्शन र प्रतीकहरूमाथिको आक्रमणले दीर्घकालीन रूपमा नकारात्मक परिणाम ल्याउने चेतावनी दिएका छन् । विज्ञप्तिमा थप भनिएको छ, “लोकप्रियतावादले क्षणिक सहानुभूति त दिलाउन सक्छ, तर त्यसको अन्त्य सधैं पीडादायी र दुःखद हुन्छ ।”

घटनापछि दाङमा राजनीतिक वातावरण केही तनावपूर्ण बनेको छ । स्थानीय प्रशासनले शान्ति–सुरक्षा कायम राख्न निगरानी बढाएको छ भने राजनीतिक दलहरूलाई संयमित व्यवहार गर्न आग्रह गरेको छ । यता रास्वपाको तर्फबाट घटनाबारे औपचारिक प्रतिक्रिया आउन बाँकी छ ।

राजनीतिक विश्लेषकहरू भने चुनावी माहोल तातिँदै जाँदा यस्ता घटनाहरू दोहोरिन सक्ने जोखिम रहेको बताउँछन् । उनीहरू लोकतन्त्रको सुन्दरता बहस, विचार र नीतिगत प्रतिस्पर्धामा हुने भएकाले कुनै पनि दलले उक्साहटपूर्ण गतिविधिबाट आफूलाई टाढा राख्नुपर्ने धारणा राख्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार