७ फागुन, काठमाडौं – रास्वपा वरिष्ठ नेता बालेन शाहले कर्णालीको गहिराइ र त्यसका स्थानीय समस्याहरूलाई बुझ्ने पार्टी आफ्नो रहेको दाबी गरेका छन्। सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको अन्य क्षेत्रले नबुझेको कर्णालीको पीडा, समस्याहरू र सम्भावनाहरूलाई रास्वपा बुझ्न चाहेको बताए।
बालेनले कर्णालीलाई केवल भूगोलको हिसाबले मात्र नभई ऐतिहासिक, सांस्कृतिक र आर्थिक दृष्टिले पनि विशेष मान्यता दिनुपर्ने औँल्याए। उनले भने, “यो देशको सबैभन्दा ठूलो ताल रारा ताल, राजा महेन्द्रले भन्नुभएको जस्तो स्वर्गकी अप्सरा भएको ठाउँमा आउन पाउँदा खुसी लागेको छ। देशको सबैभन्दा लामो नदी रहेको ठाउँ, देशको सबैभन्दा ठूलो जिल्ला, देशको सबैभन्दा ठूलो गाउँपालिका, र देशकै सबैभन्दा गहिरो ताल भएको क्षेत्रलाई आजसम्म कुनै सरकारले, कुनै पार्टीले बुझ्न सकेको छैन। त्यस गहिराइलाई बुझ्ने पार्टी हो रास्वपा।”
उनले कर्णालीको उत्पादनलाई देशभित्र मात्र नभई विश्वव्यापी स्तरमा पुर्याउने महत्वाकांक्षा व्यक्त गरे। बालेनले उदाहरण दिँदै भने, “आजको दिनमा डोल्पाको सुनजस्तो मानिने यार्सागुम्बा विश्वभर पुर्याउन सकिन्छ, तर कर्णालीको स्याउ र मार्सी चामल त्यहीँ चितवन र झाप पुग्न सक्दैन। यहाँको उत्पादनलाई कम्तीमा पनि देशभर पुर्याउने पार्टी बन्न चाहन्छ रास्वपा।”
बालेनको भनाइ अनुसार, कर्णालीको विकास केवल राजनीतिक मुद्दा मात्र नभई स्थानीय उत्पादनको बजार पहुँच, अविकसित पूर्वाधार र कृषकहरूको जीवनस्तर सुधारसँग जोडिएको छ। उनले प्रदेशका स्थानीय उत्पादनको मूल्याङ्कन गर्दै त्यसलाई विश्वसामु पुर्याउनुपर्ने आवश्यकता जोड दिए।
उनले सम्बोधनमा स्थानीय समस्याहरू र उत्पादनको प्रवर्धनमा रास्वपाको भूमिकालाई स्पष्ट पारे। बालेनको दृष्टिमा, राजनीतिक नेतृत्वले केवल घोषणामा सीमित नभई व्यावहारिक कार्ययोजना र लगानीमार्फत स्थानीय उत्पादन, कृषक र व्यवसायीलाई सहयोग गर्नु अनिवार्य छ।
कर्णालीका मानिसहरूका लागि यो भाषणले आशा र उत्साह दुवै जगाएको छ। बालेन शाहको प्रतिबद्धता स्पष्ट छ – कर्णालीको प्राकृतिक, सांस्कृतिक र आर्थिक स्रोतलाई पहिचान दिँदै, देशभित्र र विश्वव्यापी बजारसम्म पुर्याउने अभियानमा रास्वपा अगाडि बढ्न चाहन्छ।