
झापा — नेकपा ९एमाले का अध्यक्ष तथा झापा क्षेत्र नं। ५ का प्रतिनिधिसभा उम्मेदवार केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रका लागि ४२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय अभियान’ भन्ने मूल नारासहित प्रस्तुत प्रतिबद्धतापत्रमा कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, सुशासन र रोजगारीलाई प्राथमिकतामा राखिएको छ।
प्रतिबद्धतापत्र अनुसार आर्थिक वर्ष ०८२र०८३ मा रोकिएका वा अधुरा रहेका विकास निर्माण कार्यहरू सम्पन्न गर्ने, नयाँ योजनाहरू अघि बढाउने, भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पत्र उपलब्ध गराउने योजना रहेको उल्लेख छ।
कृषि र आत्मनिर्भरता
ओलीले क्षेत्रलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेका छन्। यस अन्तर्गत सिँचाइ विस्तार, भूमिगत र सतही सिँचाइ व्यवस्थापन, कृषि आधुनिकीकरण र यान्त्रिकीकरणमा जोड दिइएको छ। किसानका लागि जैविक मल कारखाना स्थापना गरिने योजना छ। साथै प्रत्येक घरपरिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउने कार्यक्रम अघि बढाइने उल्लेख छ।
कृषिमा आधारित आम्दानी बढाउन शीतभण्डार निर्माण, फलफूल र नगदे बाली प्रवर्द्धन, तथा बजार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। यसले कृषकलाई दीर्घकालीन रूपमा लाभ पुर्याउने र स्थानीय उत्पादन वृद्धि गर्ने अपेक्षा गरिएको छ।
पूर्वाधार र यातायात
अधुरा सडक, पुल र सामुदायिक भवन निर्माण क्रमशः सम्पन्न गरिनेछ। स्तरोन्नति भएका ग्रामीण सडकहरू कालोपत्रे गरिने र प्रमुख सडकखण्ड फराकिलो बनाइने योजना पनि समावेश गरिएको छ।
विशेष प्राथमिकता दिइएको मार्गहरूमा दमक–उर्लाबारी सडक, गौरादह–तोलाङ्गा–सिजुवा सडक र पुल निर्माण समावेश छन्। त्यसैगरी, बिजनेस टावर सञ्चालनमा ल्याउने, औद्योगिक पार्क निर्माण सम्पन्न गर्ने, तथा मदन भण्डारी रंगशाला र आदिवासी रंगशालाको स्तरोन्नति गर्ने प्रतिबद्धता पनि प्रस्तुत गरिएको छ।
स्वास्थ्य, शिक्षा र खेलकुद
दमक, कमल र गौरादह नगर अस्पतालको स्तरोन्नति गर्ने योजना प्रस्तुत गरिएको छ। कमलस्थित प्रादेशिक आयुर्वेद अस्पताललाई सुविधा सम्पन्न शिक्षण अस्पतालका रूपमा विकास गर्ने योजना पनि समावेश छ।
सामुदायिक क्याम्पस र विद्यालयहरूलाई भौतिक तथा शैक्षिक रूपमा सुदृढ बनाउने, प्रत्येक पालिकामा सुविधा सम्पन्न खेलमैदान निर्माण गर्ने प्रतिबद्धता पनि जनाइएको छ। यसले विद्यार्थी, युवा र खेलकुद प्रेमीहरूको पहुँचमा सुविधा विस्तार गर्ने अपेक्षा गरिएको छ।
पर्यटन र सांस्कृतिक संरक्षण
प्रतिबद्धतापत्रमा कमल थान, सिमसार क्षेत्र, पोखरी र धार्मिक स्थलहरूको संरक्षण र प्रवर्द्धन गर्दै क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना समावेश छ। चोती सिमसार, भोजोलगायत सामुदायिक वन क्षेत्रलाई पर्यटनसँग जोड्ने योजना पनि प्रस्तुत गरिएको छ।
धार्मिक, सांस्कृतिक तथा सामुदायिक परम्पराको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिइने उल्लेख गरिएको छ। यस अन्तर्गत क्षेत्रीय पहिचान र सांस्कृतिक सम्पदाको संरक्षणमा पहल गरिने योजना समावेश गरिएको छ।
सुशासन र विकासको निरन्तरता
प्रतिबद्धतापत्रमा सुशासनलाई लोकतन्त्रको सुन्दरता भन्दै भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखिएको छ। विगतमा सुरु भएका विकास योजनाहरूको संरक्षण र अधुरा कामहरू पूरा गर्ने प्रतिबद्धता दोहोर्याइएको छ।
ओलीले आगामी निर्वाचनमा विजयी भए झापा–५ लाई कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासमार्फत नमूना क्षेत्रका रूपमा स्थापित गर्ने योजना प्रस्तुत गरेका छन्।
प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा क्षेत्रीय नेता, समाजसेवी, कृषक प्रतिनिधि तथा स्थानीय जनता उपस्थित थिए। केपी ओलीले यस अवसरमा भने, “हामीले झापा–५ का हरेक घर र खेतमा समृद्धि पुर्याउने, शिक्षा, स्वास्थ्य र पूर्वाधारको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएका हौं। हाम्रो लक्ष्य क्षेत्रलाई आत्मनिर्भर, समृद्ध र सुशासनयुक्त बनाउनु हो।”
प्रतिबद्धतापत्र सार्वजनिक भएसँगै उम्मेदवार ओलीले आगामी निर्वाचनमा मतदातासँग प्रत्यक्ष संवाद गर्दै मत माग्ने कार्यक्रम पनि जारी राख्ने घोषणा गरेका छन्।