काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने बताएका छन् ।
संसद पुनर्स्थापना भएपनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्या समाधान हुने सम्भावना एकदमै कम रहेको उनले बताए।
सोमबार बालुवाटारमा बसेको पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले अध्यक्ष ओलीका राजनीतिक प्रतिवेदन पास गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापना भएपनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्याहरुको समाधान हुने सम्भावना एकदमै कम देखिएको निष्कर्ष प्रतिवेदनमा रहेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
उनका अनुसार प्रतिवेदनमा नेकपाको तीन वर्षे कार्यकालको समीक्षा समेत गरिएको छ । पार्टी एकीकरणको मनसाय सही भएपनि केही गलत प्रवृत्ति र पात्रहरुका कारण एकीकरण असफल भएको ओलीको निष्कर्ष छ । सर्वोच्च अदालतले कानूनी हिसाबले पार्टी एकता टुंग्याएको भएपनि राजनीतिक र संगठनात्मक रुपमा पहिल्यै विभाजित भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रवक्ता ज्ञवालीका अनुसार सरकारको कामको समीक्षा गर्दै प्रतिवेदनमा धेरै प्रतिकूलताका बाबजुद महत्वपूर्ण उपलब्धी हासिल भएको राजनीतिक प्रतिवेदनको निष्कर्ष छ ।
बैठकले संठनात्मक प्रतिवेदन पास गरेको छ, जसमा साउनमा विधान सम्मेलन गर्ने समेत कार्यतालिका छ । जेठ मसान्तभित्र सबै कमिटीलाई पुनर्गठन गरिसक्ने, असारमा सदस्यता नवीकरण गरिसक्ने, भदौमा वडा–पालिका र जिल्ला तथा असोजमा प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनेको प्रवक्त ज्ञवालीले जानकारी दिए ।