Logout

चर्चामा

रवि लामिछानेले भने– राम्रो नेतृत्व नचुनिए फेरि दुस्ख पाइन्छ

299 Shares

 

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित पार्टी कार्यक्रममा आगामी प्रतिनिधि सभा निर्वाचनको महत्त्वपूर्ण पक्षमा जोड दिँदै चेतावनी दिएका छन्। उनले भने, “अब पनि गलत नेतृत्व रोजियो भने फेरि पछुताउनुपर्छ। देश र भावी पुस्ताको भविष्यका लागि सबै मतदाताले सचेत निर्णय गर्न आवश्यक छ।”

कार्यक्रममा लामिछानेले यस पटक जनतासामु सक्षम र इमानदार नेतृत्व छान्ने सुनौलो अवसर रहेको उल्लेख गर्दै विगतका कमजोरीबाट पाठ सिक्नुपर्ने धारणा राखे। उनले मतदातालाई चेतावनी दिंदै भनें कि आफ्नो निर्णयले देशको राजनीतिक भविष्यमा ठूला प्रभाव पार्ने भएकाले मतदानमा जिम्मेवारीपूर्वक सोच्नुपर्नेछ।

लामिछानेले प्रतिनिधि सभा निर्वाचनको तुलना महाभारतको युद्धसँग गर्दै नागरिकलाई स्पष्ट रूपमा कौरव पक्ष वा पाण्डव पक्षमा उभिन आग्रह गरे। उनले भने, “तपाईँहरू कौरव पट्टि बस्ने कि पाण्डव पट्टि बस्ने, छुट्याउनुपर्छ। यो चुनाव सत्य र न्यायको पक्षमा उभिनु वा बेथिति र भ्रष्टाचारलाई निरन्तरता दिनुबीचको निर्णय हो।”

साथै उनले वर्तमान राजनीतिक अवस्था, सुशासन, नैतिकता र शक्तिको दुरुपयोगविरुद्ध पार्टीले निरन्तर संघर्ष गर्दै आएको बताए। लामिछानेका अनुसार, भ्रष्टाचार, बेथिति र शक्तिको दुरुपयोग जस्ता विषयलाई मुख्य मुद्दाका रूपमा लिएर जनताको सेवा गर्ने नेतृत्व आवश्यक छ।

कार्यक्रमपछि उनले रिडीदेखि तम्घाससम्म विभिन्न स्थानमा राखिएका भेटघाट र अन्तरक्रियामा भाग लिएर अर्घाखाँचीतर्फ यात्रा गरेका छन्। यस क्रममा उनले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै निर्वाचनको महत्व र जिम्मेवारीबारे जनचेतना फैलाउने प्रयास गरेका छन्।

लामिछानेले यसअघि पनि निर्वाचनलाई “नयाँ विकल्पको परीक्षा” र देशका लागि निर्णायक अवसरको रूपमा चित्रण गर्दै मतदातालाई सोच–विचार गरेर मतदान गर्न आग्रह गरिसकेका छन्। उनले पार्टी कार्यकर्ता र समर्थकहरूलाई जनतालाई सचेत गराउने अभियानमा सक्रिय रहन निर्देशन दिएका छन्।

उनको यो अभियानले आगामी निर्वाचनमा जनताको सशक्त भूमिका र जिम्मेवार मतदान सुनिश्चित गर्ने आशा गरिएको छ। लामिछानेको भनाइ अनुसार, यही चुनावले देशको राजनीति र भावी पुस्ताको भविष्य तय गर्ने निर्णायक मोड हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार