काठमाडौं, माघ २८, २०८२ – आईसीसी टी(२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल र इटलीबीच मुम्बईस्थित वाङ्खडे स्टेडियममा भिडन्त हुनेछ। यो खेलमा क्रिकेट प्रेमीहरूले दुर्लभ दृश्य देख्ने मौका पाउनेछन् – मैदानमा तीन दाजुभाइको जोडी एकसाथ खेल्दै।
नेपालका दाजुभाइ आरिफ र आसिफ शेख र इटलीका मानेन्ती तथा मोस्का दाजुभाइहरू मैदानमा हुनेछन्। आरिफ र आसिफ शेख नेपालका लागि विश्वकपमा खेल्ने पहिलो दाजुभाइ जोडी हुन्। यसैबीच, इटलीबाट एन्थनी र जस्टिन मोस्का, साथै बेन र ह्यारी मानेन्तीले टोलीको प्रतिनिधित्व गर्दै मैदान सजाउनेछन्।
विश्व क्रिकेटमा एउटै टोलीबाट दाजुभाइ खेल्दै आएको दृश्य सामान्य भए पनि, विश्वकपमा तीन दाजुभाइ जोडीको एकसाथ खेल्नु निकै दुर्लभ घटना हो। नेपाली टोलीका लागि आरिफ र आसिफ शेखले अब विश्वकपमा इतिहास रचिसकेका छन् भने इटलीबाट दुई दाजुभाइ जोडी खेल्दै छन्।
आरिफ शेख दाँयाहाते ब्याटिङ अलराउन्डर हुन् भने आसिफ शेख विकेटकिपर हुन्। आरिफले टी(२०आईमा ४६ खेलमा ५६३ रन बनाइसकेका छन् भने आसिफले ६९ खेलमा १६४६ रन बनाएका छन्।
इटलीका बेन मानेन्ती बलिङ अलराउन्डर हुन् र उनले ९ टी(२०आई खेलमा ३ विकेट लिएका छन्, साथै १४५ रन बनाएका छन्। ह्यारी मानेन्ती ब्याटिङ अलराउन्डर हुन् जसले २२ खेलमा ३९२ रन र ३४ विकेट लिएका छन्। मोस्का दाजुभाइ एन्थनी र जस्टिन दाँयाहाते र बाँयाहाते टप अर्डर ब्याटर हुन्, जसले क्रमशः ४९२ र ३८१ रन बनाएका छन्।
दुबै टोलीका दाजुभाइहरूले पहिलो खेलमा राम्रो प्रदर्शन गरिसकेका कारण, आगामी खेलमा पनि मैदानमा देखिने सम्भावना उच्च छ। यसले विश्वकपमा क्रिकेट प्रेमीहरूका लागि इतिहासको एक रोचक पाटो थप्नेछ।