Logout

चर्चामा

सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनतासम्म पुग्दैन राष्ट्रपति पौडेल

169 Shares

माघ२८, काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताका घरदैलोमा नपुग्ने बताएका छन्।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जनताको त्याग, बलिदान र संघर्षबाट प्राप्त संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य उद्देश्य सहज सेवा प्रवाह र सुशासनमार्फत देशको समृद्धि हासिल गर्नु रहेको बताए।

उनले संविधानले राखेको यही अभिष्ट पूरा गर्न बेलाबेलामा आवाज उठ्ने गरेको उल्लेख गर्दै हालै युवापुस्ताले संघर्षमार्फत आफ्नो चाहना व्यक्त गरेको कुरालाई पनि बिर्सन नहुने बताए।

राष्ट्रपति पौडेलका अनुसार लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, सुशासन, सामाजिक न्याय र समृद्धि नै मुलुकको प्रमुख चाहना हो। उनले जनताको अपेक्षाअनुसार विकास र समृद्धि हासिल गर्न अख्तियार दुरुपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको स्पष्ट पारे।

सबै प्रकारका भ्रष्टाचार छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उनले अख्तियार दुरुपयोग केवल कानुन उल्लङ्घन मात्र नभई नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गरिएको गहिरो आघात भएको बताए। भ्रष्टाचारले राज्य र नागरिकबीचको भरोसामा चोट पुर्‍याउने र लोकतन्त्रका आधारभूत मूल्यहरूलाई कमजोर बनाउने उनले उल्लेख गरे।

भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो आवश्यकता रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सत्ता, शक्ति र धनप्रतिको अनावश्यक मोहले प्रक्रिया र प्रणालीको दुरुपयोग बढाई मानिसलाई भ्रष्टाचारतर्फ उन्मुख गराउने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार