काठमाडौं, नेपाल – दक्षिण कोरियाली द्यत्क् जस्ता कलाकारले आफ्नो देशलाई सांस्कृतिक, आर्थिक र विश्वव्यापी प्रभावको रूपमा मजबुत बनाएको उदाहरण सँगसँगै, नेपालका कलाकार “राष्ट्रका गहना” आफ्नै देश छोड्दै छन्। राजनीतिक, आर्थिक र संरचनात्मक असुरक्षाका कारण थुप्रै गायक, अभिनेत्री, अभिनेता र प्राविधिकहरू अमेरिका, युरोप, अष्ट्रेलिया जस्ता देशमा अवसर खोज्न बाध्य भएका छन्।
द्यत्क् जस्तो समूहले कोरियाली अर्थतन्त्रमा वार्षिक ५ अर्ब अमेरिकी डलर योगदान गरिरहेको छ भने भारतको चलचित्र, टेलिभिजन र इत्त् उद्योगले वार्षिक ६१।२ अर्ब अमेरिकी डलर बराबरको योगदान गर्दै २।६४ मिलियनले प्रत्यक्ष रोजगारी पाएको तथ्यांक छ। यसले स्पष्ट देखाउँछ कि मनोरञ्जन उद्योग केवल मनोरञ्जन मात्र नभई राष्ट्रिय शक्ति, अर्थतन्त्र र सफ्ट पावरको मुख्य साधन हुन सक्छ।
तर नेपालमा स्थिति विपरीत छ। निर्माता अविरल थापाका अनुसार, “नेपाली फिल्म उद्योग र गीत–संगीत आज सङ्क्रमणकालमै छ। सरकारले यस क्षेत्रलाई न नीतिगत रूपमा हेरेको छ, न त कर संरचनामार्फत सहयोग नै गरेको छ।” राज्यको निरन्तर उपेक्षाका कारण कलाकारहरूले विदेश जान बाध्यता महसुस गरिरहेका छन्।
अमेरिकामा रहेका निर्देशक हिमाल केसी भन्छन्, “देशको समग्र अवस्था नै बस्न लायक छैन। अवसर छैन, सुरक्षाको प्रत्याभूति छैन, सम्मान छैन। त्यसैले अन्ततः म देश छोड्न बाध्य भएँ।” उनले थपे, “असाधारण प्रतिभा भएका कलाकारलाई पनि राज्यले विशेष सम्मान वा दीर्घकालीन सुरक्षा दिन सक्दैन।”
सांस्कृतिक योगदानको दृष्टिले पनि कलाकारहरूको मान्यता न्यून छ। राष्ट्रिय पुरस्कार र पदक प्रायः राजनीतिक पहुँच र सम्बन्ध अनुसार वितरण हुने हुँदा पारदर्शिता र भरोसा घटेको छ। नवगायक विजय अर्याल भन्छन्, “विदेशी कलाकारलाई नेपालमा ल्याएर कार्यक्रम गर्न करोडौँ रुपैयाँ खर्च भइरहेको छ, तर यही देशका कलाकारको प्रोत्साहन, विकास र सुरक्षामा कसैले ध्यान दिँदैन।”
नविल बैंकका ऋभ्इ मनोज ज्ञवालीले यसलाई आर्थिक दृष्टिले पनि औंल्याए। “कर्पोरेटहरूको नजरमा फिल्म र कला क्षेत्रमा लगानी गर्न विशेष आकर्षण छैन, किनकि प्रत्यक्ष फाइदा देखिन्न।” उनले भने, “तर दीर्घकालीन दृष्टिकोणले हेर्दा कला र संगीतलाई देशको ब्रान्ड र आर्थिक शक्ति बनाउन सकिन्छ।”
विशेषज्ञहरूको धारणा अनुसार, यदि नेपाल सरकारले मनोरञ्जन उद्योगलाई नीति, लगानी र संरचनात्मक समर्थन दियो भने यो उद्योग कोरिया र भारतजस्तै आर्थिक र सांस्कृतिक शक्ति बन्न सक्ने क्षमता राख्छ।
नेपालका कलाकारहरू विदेश पलायन हुनुको मुख्य कारण व्यक्तिगत चाहना मात्र होइन। यो सुरक्षा, भविष्य र सम्मानको आवश्यकतालाई पूरा गर्ने उपायको अभाव हो। जबसम्म राज्यले कलाकारलाई “राष्ट्रका गहना”को रूपमा देख्ने दृष्टिकोण राख्दैन, तबसम्म प्रतिभा देशमै टिक्न सक्दैन।