२६ माघ, काठमाडौं — नेपालको पहिलो ‘रिसर्च युनिभर्सिटी’ मदान भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह सफलता पूर्वक सम्पन्न गरेको छ। आइतबार चित्लाङस्थित विश्वविद्यालयको प्रांगणमा आयोजित समारोहमा विश्वविद्यालयको पहिलो ब्याचका विद्यार्थीहरूलाई स्नातक उपाधि प्रदान गरियो।
विश्वविद्यालयका धनकृष्ण आचार्य, सवनम सुवेदी र शिशिल राई पहिलो स्नातक बने। उनीहरूले अर्गानिक कृषि कार्यक्रमबाट स्नातक गरेका हुन्।
समारोहमा प्रमुख अतिथि, विश्वप्रसिद्ध उच्च शिक्षा विशेषज्ञ डा। जमिल साल्मीले स्नातकहरूलाई जिज्ञासु, नैतिक र सामाजिक उत्तरदायी नेताका रूपमा अघि बढ्न प्रेरित गरे। उनले विश्वविद्यालयको भविष्यमुखी मोडेल, गुणस्तर, स्वायत्तता र विश्वस्तरीय ज्ञानमा आधारित यात्रा प्रोत्साहनपूर्ण रहेको बताए। डा। साल्मीलाई उच्च शिक्षा सुधार र नीतिमा उत्कृष्ट योगदानका लागि मानद उपाधि प्रदान गरिएको थियो।
यस्तै, विश्वविद्यालय बोर्ड अफ ट्रस्टीका सदस्य प्रो। सुजान फोर्टियरले स्नातकहरूलाई शैक्षिक र व्यावसायिक यात्रामा उत्कृष्टता र इमानदारीका लागि शुभकामना दिइन्। उनी क्यानडाको म्याकगिल विश्वविद्यालयकी पूर्व प्रिन्सिपल एवं भाइस–चान्सलर तथा नेचुरल साइन्सेस एन्ड इन्जिनियरिङ रिसर्च काउन्सिलकी पूर्वअध्यक्ष पनि हुन्।
बोर्ड अफ ट्रस्टीका अध्यक्ष पद्म ज्योतिले विश्वविद्यालयले सिर्जना गरेको ज्ञान, नवप्रवर्तन, उद्यमशीलता र रोजगारीमा रूपान्तरण हुनुपर्नेमा जोड दिए।
विश्वविद्यालयका अध्यक्ष डा। राजेन्द्रध्वज जोशीले भने, “हाम्रो प्रयास अनुसन्धान क्षमता सुदृढ गर्ने, वैज्ञानिक शिक्षा प्रवर्धन गर्ने र राष्ट्रिय विकाससँग जोड्ने छ।”
२०७९ मा स्थापना भएको यो विश्वविद्यालय परम्परागत शिक्षणभन्दा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित छ। वर्तमानमा जैविक कृषि, वन पैदावार, कृत्रिम बौद्धिकता, तथ्यांक विज्ञान, दिगो पूर्वाधार लगायतका विषयमा स्नातकोत्तर र विद्यावारिधि कार्यक्रम सञ्चालनमा छन्। आगामी शैक्षिक सत्रबाट साइबर सुरक्षा, एआई र तथ्यांक विज्ञानमा स्नातक कार्यक्रम सुरु हुने तयारी भइरहेको छ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले इतिहास रच्दै नेपालमा अनुसन्धानमुखी, नवप्रवर्तनशील शिक्षा प्रणालीको बाटो खुलेको छ।