२६ माघ, काठमाडौं
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकको पूर्वाधार विकासमा देखिएको ढिलासुस्ती अन्त्य गर्न अब परम्परागत सोचभन्दा बाहिर निस्केर केही नयाँ जोखिम उठाउनुपर्ने बताएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत करिब सवा सात मिनेट लामो भिडियो सन्देश सार्वजनिक गर्दै उनले सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु कांग्रेसको स्पष्ट प्रतिबद्धता रहेको बताए।
थापाका अनुसार नेपालमा पूर्वाधार आयोजना समयमै सम्पन्न नहुनु गम्भीर समस्या बनेको छ, जसका कारण विकास लागत बढ्नुका साथै अर्थतन्त्रको उत्पादनशीलतामा नकारात्मक असर परेको छ। यसले देशलाई ठूलो ‘अवसर लागत’ व्यहोर्न बाध्य बनाएको उनको भनाइ छ।
“जादु गरेजस्तो वा चमत्कारजस्तो गरी समस्या आफैँ समाधान हुन्छ भन्ने सोच राख्यौँ भने अर्को पाँच वर्ष पनि खेर जान सक्छ,” उनले भने, “अब आउने पाँच वर्ष खेर नजाने गरी योजनाबद्ध र साहसी निर्णयका साथ अघि बढ्नुपर्छ।”
पूर्वाधार क्षेत्रमा अपेक्षित सुधार ल्याउन कानुनी सुधार, संस्थागत क्षमताको अभिवृद्धि र सार्वजनिक निकायका काम गर्ने शैलीमा परिवर्तन आवश्यक रहेको थापाले उल्लेख गरे। साथै उनले नयाँ वित्तीय मोडेल प्रयोग गर्नुपर्ने र निजी क्षेत्रलाई विश्वासमा लिएर सहकार्य गर्नुपर्नेमा जोड दिए।
“हामीले अनुगमन गर्ने तरिकासमेत बदल्नुपर्छ,” उनले भने, “केही नयाँ जोखिम नउठाईकन ठूलो रूपान्तरण सम्भव छैन।”
आगामी पाँच वर्षभित्र पूर्वाधार विकासको क्षेत्रमा नेपालले उल्लेखनीय र रूपान्तरणकारी परिवर्तन गरेको देशका रूपमा स्थापित गर्न सकिनेमा आफू विश्वस्त रहेको सभापति थापाले बताएका छन्।