बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा का सभापति रवि लामिछानेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन कुनै दल वा नेताले जित्ने नभई देशले जित्ने निर्वाचन भएको बताएका छन्।
रूपन्देही–१ अन्तर्गत देवदह खैरेनीमा आयोजित ‘जनसम्पर्क’ कार्यक्रममा बोल्दै लामिछानेले विगतमा पटक–पटक दल र नेताहरूले चुनाव जिते पनि त्यसको प्रतिफल देश र जनताले नपाएको उल्लेख गरे। “अब हुने चुनाव देशको भविष्य बदल्ने अवसर हो,” उनले भने।
पार्टीभित्र पदभन्दा जिम्मेवारीलाई प्राथमिकता दिइएको बताउँदै लामिछानेले रास्वपामा शक्ति बाँडफाँट नभई कामको जिम्मेवारी बाँडिएको स्पष्ट पारे। उनले आगामी पाँच वर्ष एउटै नेतृत्व, स्थिर सरकार र स्पष्ट कार्यदिशा रहने दाबीसमेत गरे।
घोषणापत्रभन्दा काममा विश्वास गर्ने धारणा राख्दै उनले अन्य दलले पूरा गर्न नसकेका प्रतिबद्धता रास्वपाले व्यवहारमै उतार्ने बताए। “हामी कागजका वाचा होइन, नतिजामा विश्वास गर्छौं,” उनको भनाइ थियो।
रास्वपाले रूपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा अभियान सञ्चालन गर्ने जनाएको छ। देवदहबाट सुरु भएको जिल्ला स्तरीय अभियान साँझ लुम्बिनी पुगेर समापन हुने र त्यसपछि कपिलवस्तु प्रवेश गर्ने कार्यक्रम रहेको पार्टीले जानकारी दिएको छ।