काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपाले पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।
पार्टी अध्यक्ष परिषद् सदस्य सुदन किराँतीद्वारा जारी शोक वक्तव्यमा भोजप्रसाद भट्टराईलाई एक प्रेरणादायी अभिभावकका रूपमा स्मरण गरिएको छ। वक्तव्यमा उल्लेख गरिएअनुसार उहाँको जीवनले परिवार मात्र होइन, समाजका लागि पनि मूल्य, संस्कार र मार्गदर्शनको उदाहरण प्रस्तुत गरेको छ।
९७ वर्षको उमेरमा सोमबार काठमाडौंमा भोजप्रसाद भट्टराईको निधन भएको हो। उहाँको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ।
शोक वक्तव्यमा भनिएको छ, “दीर्घ जीवन अनुभव बोकेका अभिभावकहरूले नयाँ पुस्तालाई मौन रूपमा दिशा दिने गर्छन्। भोजप्रसाद भट्टराईको जीवन त्यही मौन योगदानको सशक्त उदाहरण हो।”
प्रलोपाले उहाँ भौतिक रूपमा नहुँदा पनि विचार, संस्कार र प्रेरणाका रूपमा सधैं जीवित रहने विश्वास व्यक्त गरेको छ। साथै पार्टीले डा। बाबुराम भट्टराईसहित शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।