काठमाडौं । आज दिउँसो बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ। बैठक दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको थियो।
नेताहरूबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको पार्टी कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठक गत चैत ३० गते बस्ने भनेर पनि स्थगित भएको थियो।
महाधिवेशनका लागि क्रियाशील सदस्यताको विवरण गत चैत ३० सम्म केन्द्रीय सर्भरमा इन्ट्री गर्ने समयसीमा तोकेको थियो।
यसअघि क्रियाशील सदस्यता विवरण इन्ट्री गर्ने समयसीमा चैत १० गतेसम्म तोकिएकोमा २० दिन थप गरेर चैत ३० सम्म पुर्याइएको थियो। चैत ३० मा बैठक बस्न नसकेपछि कतिपय जिल्लाले त्यसपछि पनि सदस्यता इन्ट्रीको काम गर्ने समय पाएका थिए।
केही जिल्लामा विभिन्न पार्टीसँगको एकीकरणपछिको समायोजन पनि बाँकी रहेकाले क्रियाशील सदस्यता टुंगो लाग्न सकेको छैन भने कतिपय जिल्लामा आन्तरिक किचलो छ।