२१ माघ, काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री डा। सुधा गौतमले वर्तमान अवस्थामा स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन नसकिने बताएकी छन्। बुधबार स्वास्थ्य बीमा सम्बन्धी छलफल कार्यक्रममा मन्त्री गौतमले संविधानले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन भनेको तर बीमा प्रणालीले यसलाई उल्झाएको बताइन्।
मन्त्रीले भनिन्, “सरकारले ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने व्यवस्था गरेको भए पनि बीमा प्रणालीले यसमा झन् जटिलता सिर्जना गरेको छ। संविधान अनुरूप सेवा निःशुल्क दिन बीमा अनिवार्य हुनुहुँदैन।” उनले स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने बजेट समेत अर्थ मन्त्रालयले उपलब्ध गराएको छैन भन्ने गुनासो पोखिन्।
उनले सुधारका कार्यक्रम अघि सारेको तर सरोकारवाला मन्त्रालयहरूको सहयोग नपाएको भन्दै स्वास्थ्य बीमा प्रणालीलाई सहज बनाउन अध्यादेश ल्याउने तयारी भइरहेको जानकारी दिइन्।