काठमाडौं । नेकपा एमालेले संविधान संशोधनमार्फत मुलुकको शासन प्रणाली र निर्वाचन व्यवस्थामा आवश्यक सुधार गर्ने स्पष्ट संकेत दिएको छ। पार्टीका वरिष्ठ नेता ईश्वर पोखरेलले वर्तमान संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरीलाई सच्याउँदै जनअपेक्षाअनुसार प्रणालीलाई प्रभावकारी बनाउने दिशामा एमाले अघि बढ्ने बताएका छन्।
प्रेस चौतारी नेपालले आयोजना गरेको उम्मेदवार–पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान, सुशासन र विकास एमालेको मूल प्राथमिकता रहने बताए। उनका अनुसार आगामी निर्वाचनका लागि तयार पारिने पार्टीको घोषणापत्र यी मुद्दामा केन्द्रित हुनेछ।
उनले अहिलेको राजनीतिक अभ्यासबाट जनताले अपेक्षित परिणाम नपाएको स्वीकार गर्दै शासन प्रणाली, निर्वाचन प्रक्रिया र सेवा प्रवाहलाई सरल, पारदर्शी र परिणाममुखी बनाउने आवश्यकता औंल्याए। “संविधान कुनै स्थिर दस्तावेज होइन, समय र परिस्थितिअनुसार सुधार गर्दै लैजानुपर्छ,” पोखरेलको भनाइ थियो।
एमालेले यसपटकको घोषणापत्रलाई केवल प्रतिबद्धतामा सीमित नराखी स्पष्ट कार्ययोजना र समयसीमासहित प्रस्तुत गर्ने दाबी पनि उनले गरे। विकासका एजेन्डा नारामै सीमित नभई कार्यान्वयनमा देखिने गरी अघि बढाइने उनको भनाइ छ।
कार्यक्रममा पोखरेलले पार्टीविरुद्ध नियोजित रूपमा षड्यन्त्र भइरहेको आरोप पनि लगाए। बाह्य र आन्तरिक दुवै किसिमका चुनौतीबीच पनि एमाले अझ संगठित र बलियो भएर अघि बढ्ने उनले बताए। “एमालेलाई कमजोर बनाउने प्रयास सफल हुँदैन,” उनले भने।
आगामी निर्वाचनमा पार्टीले अपेक्षाभन्दा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्दै पोखरेलले जनताको भरोसा जितेरै एमाले अघि बढ्ने दाबी गरे।