काठमाडौं, २१ माघ
अघिल्लो निर्वाचनमा स्वास्थ्य समस्याका कारण अस्पताल र घरमै सीमित भएका नेकपा ९माओवादी केन्द्र० का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन यसपटक भने सक्रिय रूपमा चुनावी मैदानमा उत्रिएका छन्।
२०७९ सालको निर्वाचनताका जन्डिसका कारण थलिएका पुन मतदातामाझ पुग्न नसक्दा प्रत्यक्ष भोट माग्नबाट वञ्चित भएका थिए। तर अहिलेको निर्वाचनमा भने उनी आफ्नै गृहजिल्ला रोल्पाका गाउँ–गाउँ र घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन्।
एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको रोल्पाबाट पुन तेस्रोपटक उम्मेदवार बनेका छन्। माओवादी सशस्त्र संघर्षको उद्गमस्थल मानिने रोल्पाबाट उनी २०७४ र २०७९ को निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। यसपटक उनी ह्याट्रिक जितको लक्ष्यसहित मैदानमा छन्।
आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै पुनले जिल्लाका सबै वडामा पुग्ने प्रतिबद्धता जनाएका छन्। रोल्पामा १ नगरपालिका र ९ गाउँपालिका गरी १० स्थानीय तह तथा ७२ वडा रहेका छन्।
‘अघिल्लो चुनावमा स्वास्थ्यले साथ दिएन, सबै ठाउँमा पुग्न सकिन,’ पुन भन्छन्, ‘योपटक भने एक पनि वडा छुटाउँदिनँ। मतदातासँग प्रत्यक्ष भेटेर कुरा गर्छु र उनीहरूका सुझाव सुन्छु।’
यसैक्रममा सोमबार रुण्टीगढी गाउँपालिकाका सबै ९ वडा घुमेका पुनले मंगलबार त्रिवेणी गाउँपालिकाका सातै वडामा घरदैलो अभियान चलाएका छन्।
घरदैलोका क्रममा मतदाताले उठाएका विषयहरू स्वास्थ्य, शिक्षा, सडक, विद्युत्, खानेपानी र सञ्चार जस्ता आधारभूत आवश्यकतासँग जोडिएका छन्। भौतिक पूर्वाधारमा सुधार भए पनि अझै पर्याप्त नभएको गुनासो धेरैले गरेको पुन बताउँछन्।
कतिपय मतदाताले निर्माणाधीन योजनामा हुने ढिलासुस्ती, कामको गुणस्तर र सरकारी निकायको कमजोर अनुगमनप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।
मतदाता राजनीतिक रूपमा सचेत रहेको उल्लेख गर्दै पुन भन्छन्, ‘सांसदको काम कानून बनाउने मात्र होइन। सांसद प्रतिनिधि हो, विकासको पुल हो, अभिभावक पनि हो र सेवक पनि हो।’
विगतमा सांसद तथा मन्त्रीका रूपमा रोल्पाको विकासमा भूमिका खेलेको दाबी गर्दै पुनले आगामी दिनमा पनि जनताको सुख–दुःखमा सँगै रहने प्रतिबद्धता दोहोर्याएका छन्।
यसपटक स्वास्थ्यले साथ दिएको छ, उत्साह पनि उस्तै छ। अस्पतालको शैयाबाट चुनाव लडेका वर्षमान पुन अहिले घरदैलोबाट ह्याट्रिकको खोजीमा छन्।