१८ माघ, काठमाडौं।
काठमाडौंको भोटाहिटीमा रहेको नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालय रहेको भवन काठमाडौं महानगरपालिकालाई प्रयोग गर्न दिने विषयमा गृह मन्त्रालयले औपचारिक सहमति दिएको छ।
हाल साइबर ब्यूरोले प्रयोग गर्दै आएको कित्ता नम्बर ३५३, ३५४ र ३५५ अन्तर्गतको कूल ४ आना २ पैसा १ दाम क्षेत्रफलको जग्गा तथा त्यसमा निर्माण भएको भवन महानगरपालिकाले उपयोग गर्ने गरी निर्णय गरिएको हो।
यसको बदलामा काठमाडौं महानगरपालिकाले रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको ७ रोपनी २ पैसा ३ दाम क्षेत्रफलको जग्गा नेपाल सरकारको नाममा दर्ता गर्न सहमति जनाएको छ।
आइतबार गृह मन्त्रालयमा भएको गृह मन्त्रालय र काठमाडौं महानगरपालिकाबीचको छलफलपछि उक्त सहमति भएको हो। गृह मन्त्रालयका उपसचिव वर्तराज पौडेलका अनुसार, उक्त निर्णय दुवै पक्षको आपसी समझदारीमा गरिएको हो।
उनले बताएअनुसार, रामशाहपथस्थित जग्गा नेपाल सरकारको नाममा दर्ता भएपछि कुल क्षेत्रफलमध्ये कम्तीमा ८ आना जग्गा समरजंण कम्पनी कार्यालयका लागि प्रयोग गरिनेछ भने बाँकी क्षेत्र नेपाल प्रहरी उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपयोग गर्नेछ।
यसअघि काठमाडौं महानगरपालिकाले भोटाहिटीस्थित साइबर ब्यूरो रहेको भवनमा वडा कार्यालय स्थापना गर्न माग गर्दै आएको थियो। सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण स्थानीय तहको जिम्मेवारी हुने कानुनी व्यवस्था अनुसार गृह मन्त्रालयसँग समन्वय गरी उक्त सहमति गरिएको जनाइएको छ।